© २०२३
बुटवल, १२ असार ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर ७ का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मरासिनी र वडाध्यक्ष यादवलाई ५० हजार रुपैयाँ बिगो कायम, त्यति नै जरिवाना र कैद सजायको माग गरिएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सो घटनामा संलग्न बिचौलिया बिनोद भरलाई पनि मुख्य कसुरदारसरह नै सजाय हुन मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
यसअघि उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा मरासिनी, वडाध्यक्ष यादव र बिचौलिया भरलाई बुटवलस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।