© २०२३
सल्यान, ११ असार ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानीमा अनुदान दिने नीति ल्याएको छ । कृषि व्यवसाय प्रवद्र्धनका लागि बीउ विजन, मलखाद, कृषि औजारको खरिद र कृषिजन्य उत्पादनको ढुवानीमा अनुदानको व्यवस्था गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । १४ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बजेट पेश गरेकी थिइन् ।
कृषकलाई सम्मान र पुरस्कृत गर्ने, सिंचाइ योजनाहरु सञ्चालन गर्ने, सबै वडाबाट कृषि र पशु सेवा उपलब्ध गराउने, ठुला किसान र मझौला किसानलाई कम्पनी तथा फर्मा मार्फत विकास गरिने, साना तथा अति विपन्न किसानलाई समूह र सहकारीमा आबद्ध गरी उत्पादन सामग्री तथा सेवा वितरण गरी ग्रामीण स्तरमा विद्यमान गरिबी न्यूनीकरण गरिने छत्रेश्वरीको नीति छ ।
सुन्दर, समुन्नत र समृद्ध छत्रेश्वरी गाउँपालिका निर्माण गर्ने संकल्प, नागरिकको समृद्धिको चाहना र स्थानीय तह निर्वाचनमा जनाइएका प्रबिद्धताहरु पुरा गर्ने दिशामा नीति तथा कार्यक्रमलाई अभिमुख गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।
उद्यमशीलताबाट रोजगारी श्रृजना गर्ने, दिगो खानेपानी तथा सरसफाई परियोजना प्रभावकारी रुपमा सञ्चालन गर्ने, पूर्वाधार विकासलाई प्रभावकारी र लयबद्ध रुपमा अगाडि बढाउने, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु अघि सारेको छ ।
छत्रेश्वरीको गाउँसभाले उपाध्यक्ष खत्रीले पेश गरेको ५० करोड तीन लाख ३१ हजार ३९४ रुपैयाँ बराबरको बजेट पनि पारित गरेको छ । पारित बजेटमा कृषि क्षेत्रको विकासका लागि ४२ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । वडा स्तरमा वडा नम्बर ५ मा ६० लाख बराबर र अन्य वडाहरूमा प्रति वडा ५० लाख बराबरका विभिन्न योजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न हुनेछन् ।
संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९ करोड ९ लाख, सर्शत अनुदान चालुतर्फ २२ करोड ७१ लाख र पुँजीगत तर्फ २ करोड ६९ लाख, राजस्व बाँडफाँड ८ करोड ७१ लाख ८३ हजार ९ सय, प्रदेश सरकाबाट प्राप्त वित्तिय समानीकरण अनुदान १ करोड ४२ हजार, राजस्व बाँडफाँडमा ७ लाख ६५ हजार ४ सय ९४, प्रदेश सशर्त अनुदान १ करोड ८४ लाख ४० हजार, प्रदेश विशेष ४० लाख र आन्तरिक श्रोत २ करोड ७० लाख रुपैयाँ अनुमान गरी छत्रेश्वरीले बजेट निर्माण गरेको थियो ।