© २०२३
बर्दघाट, ११ असार ।
पश्चिम नवलपरासीको बर्दघाटमा प्रतियोगात्मक कवि गोष्ठी हुने भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १६ गते शनिबार कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले लुम्बिनी प्रदेशमै पहिलो पटक प्रतियोगितात्मक कवि गोष्ठीको आयोजनाको बारेमा जानकारी गराएका थिए । उनका अनुसार प्रतियोगितामा इमेल मार्फत र कार्यालयमा यसअघि प्राप्त रचनाहरुलाई प्रतियोगितामा सहभागी गराइने छ । प्राप्त कुल ५१ वटा रचना मध्ये उत्कृष्ट २५ वटालाई प्रतियोगितामा सहभागी गराइने उनको भनाइ थियो ।
गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका स्रष्टाहरुको उपस्थिति रहने न्यौपानेले जानकारी दिए । प्रतियोगिता सँचालनको लागि करिव ३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथमलाई नगद २५ हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार पुरस्कार राशी प्रदान गरिने छ ।
कवि गोष्ठीले साहित्यिक क्षेत्रमा बर्दघाट नगरको नाम परिचित गराउने र कला साहित्य सँरक्षण र विकासमा टेवा पुग्ने अपेक्षा प्रतिष्ठानले लिएको न्यौपानेले बताए ।