© २०२३
चन्द्रौटा (कपिलवस्तु), ८ असार ।
कपिलवस्तुको चन्द्रौटामा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य जाँच गरेको छ । सवारी दुर्घटना दिन प्रतिदिन बढ्दै गएपछि प्रहरीले सडकमै सवारी चालकहरुको स्वास्थ्य जाँच सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण मध्ये चालकको स्वास्थ्य अवस्था पनि हुने भएकाले उनीहरुको स्वास्थ्य जाँच गरिएको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चन्द्रौटामा चालकहरुको बिहीबार निःशुल्क स्वास्थ्य जाँच गरेको हो । जसबाट चालकहरु सचेत र उत्साहित पनि भएका छन् ।
आँखाको दृष्टि, सुगर प्रेसरलगायत कमजोरी चालकमा हुँदा दुर्घटना हुने भएकाले स्वास्थ्यबारे चालक सचेत गराउन राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य जाँच गरिएको हो । निःशुल्क शिविरमा केही चालकहरुमा दृष्टिको समस्या देखिएको ट्राफिक प्रहरीको भनाई छ ।
ट्राफिक प्रहरी नायब निरीक्षक राघव सिंह राठौरले छन्द (कालेबाबू) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको बताए । सहायक ट्राफिक प्रहरी निरीक्षक जीत बहादुर भाटले ६४ जनाको स्वास्थ्य परीक्षण गरिएको बताए । जसमध्ये १९ जनालाई चस्मा दिएको छ । ४५ जनालाई औषधि तथा परामर्श दिएको उनले जानकारी दिए ।
अस्पतालका बाह्य कार्यक्रम संयोजक हरि भण्डारीले स्वास्थ्य जाँचमा चालकहरुमा भेटिएका समस्यालाई निरन्तर फ्लोअप गर्ने बताए । आगामी दिनमा यस्ता शिविरलाई निरन्तरता दिने जनाउँदै दृष्टि विशेषज्ञ सुशील कार्कीसहित प्राविधिकको टोलीले शिविर सञ्चालन गरेको थियो ।