© २०२३
दाङ, ७ असार ।
नागरिक समाज दाङले निर्वाचनमा नो भोटको व्यवस्था कार्यान्वयन गर्न सरकारसमक्ष ध्यानाकर्षण गराएको छ । समाजको आज बसेको बैठकले नेपाली जनतालाई आफ्नो जनप्रतिनिधि छनौट गर्ने क्रममा मतदान गर्दा मतपत्रमा उल्लेखित चुनाव चिन्हमा मतदान गर्ने ईच्छा नभएको अवस्थामा नो भोटमा मतदान गर्ने व्यवस्था गर्न माग गरेको छ ।
समाजका संयोजक केबी मसालको अध्यक्षतामा बसेको बैठकले यसअघि नो भोटमा मतदान गर्ने व्यवस्था गर्न माग राख्दै सम्मानित सर्वोच्च अदालतमा रिट दायर भएकोमा अदालतबाट नेपाल सरकारको नाममा नो भोटको व्यवस्था गर्न परमादेश जारी भएको स्मरण गराएको छ ।
निर्वाचन आयोगले निर्वाचन ऐन २०७३ संशोधन गर्ने मस्यौदा तयार भएको उक्त मस्यौदामा नो भोट राख्ने व्यवस्था संघीय संसदबाट पारित गर्न ध्यानाकर्षण गराएको छ ।
यसैगरी, बर्षे धानबालीको खेतीपातीका समय आएकाले रासायनिक मल, उन्नत बीउ सबै सुलभ अवस्थामा कृषकले प्राप्त गर्न नसकेको हुँदा कृषि सामग्री संस्थान, साल्ट ट्रेडिङबाट रासायनिक मल, बीउ सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, विद्युत सेवा हाल अत्यन्तै अनियमित हुँदै आएको प्रति नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गर्मीयाम बढ्दै गएकाले विद्युत सेवा नियमित गर्न गराउन विद्युत कार्यालय घोराही वितरण केन्द्रमा पुगी सेवा सुधार गर्न ध्यानाकर्षण गराईएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । बैठकले समाजको स्थापनाकालदेखि हालसम्म भएका काम र उपलब्धीहरुको समीक्षा गर्दै उठेका कुराहरु सुधार गर्दै जाने प्रतिवद्धता पनि जनाएको उनले बताए ।