© २०२३
पाल्पा, ६ असार ।
पाल्पा जिल्लामा खोला र नदीबाट अकालमै ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । यहाँका नदी र खोलाबाट एक वर्षमा २४ जनाले अकालमै ज्यान गुुमाएका छन् । जसमा १२ पुरुष, २ महिला, ५ बालक र ५ बालिका रहेका छन् । आर्थिक वर्ष २०७९÷८० को असार २ गतेसम्मको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्कमा २१ जना रहेको उल्लेख गरिए पनि असार ४ गते सोमबारसम्म थप ३ जनाको ज्यान गएको छ । योसँगै नदी –खोलाबाट एक वर्षमा २४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ज्यान गुमाउनेमा अधिकांश घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक रहेका छन् ।
तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ । भूतखोलामा रहेको पानी पोखरी अवलोकन गर्न पुग्नेहरु फोटो खिच्ने र पौडी खेल्ने क्रममा अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यस्तो समस्या आएको हो ।
हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको सिन लिएर तस्बिर खिच्नेहरु लडेर ज्यान गुमाउने गरेका छन् । भूतखोला पर्यटकका लागि आकर्षण स्थल भए पनि त्यसको उचित सुरक्षा प्रवन्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी जाने र उनीहरुले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरु अपनाउन जिल्ला पहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह समेत गरेको छ । पछिल्ला केही दिन यता भारत, रुपन्देही लगायत तराईका जिल्लाहरुबाट गर्मी छल्न तिनाउ खोलामा पोडी खेल्न पुग्नेहरुको संख्या बढ्दै जाँदा डुवेर मृत्यु हुनेको संख्या समेत बढेको प्रहरीले जनाएको छ । भूतखोलामा रहेको सानो झरना र नीलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् ।