© २०२३
दाङ, ५ असार ।
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा ३६ वटा पावर टेलर, २० वटा मिनी पावर टेलर, एउटा रोडाभेटर र २ वटा थ्रेसर मेसिन उपलब्ध गराएको छ ।
त्यसैगरी, ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरेको घोराही उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । उनका अनुसार १ करोड १९ लाख ८५ हजार रुपैयाँमा टेण्डर भएकोमा ९५ लाख ९५ हजार ९९० रुपैयाँमा स्विकृती भएको थियो । नगरको तर्फबाट ४९ लाख ७३ हजार ४६० रुपैयाँ कृषकहरुलाई अनुदान दिइएको शाखा प्रमुख खनालले बताए । उपमहानगरपालिकाले १९ वडाका ६२ जना किसानलाई ४० लाख मूल्य बराबरको कृषि औजार उपकरण वितरण गरेको हो । कृषिमा प्रविधिको प्रयोग बढाउँदै उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ ५० प्रतिशत अनुदानमा कृषि औजार कृषकलाई वितरण गरेको छ ।
कृषकलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तन गर्न र कृषिमा आत्मनिर्भर हुन आग्रह गरे । कृषिमा आधुनिकीरणका लागि प्रविधिमा सहयोग गर्ने तर उत्पादनमा वृद्धि हुन नसके उपलव्धी नहुने भन्दै प्रविधिको प्रयोगका माध्यमबाट उत्पादन बढाउन किसानलाई आग्रह गरे । किसानको समयको बचत र आम्दानीमा वृद्धि गर्ने उद्देश्यले यन्त्र वितरण गरेको बताए । घोराही उपमहानगरपालिकाले पछिल्लो ४ वर्षमा पालिकाका १ सय ६८ जना किसानहरुलाई विभिन्न औजार उपकरण बितरण गरेको घोराही उपमहानगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।