© २०२३
सुनवल, ५ असार
रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा गरिएको कडाईसंगै पश्चिम नवलपरासीको सिमा नाका पनि कडाई गरिने भएको छ । भारतबाट एक सय रुपैँया माथिका समान ल्याउदा अनिवार्य भन्सार तिनुपर्ने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय सरकारले गरेको व्यवस्था कार्यान्व्यनमा ल्याउने निर्णय गरेको हो । उद्योगि व्यवसायी, सुरक्षा निकायका प्रमुख, भन्सारका अधिकारी सहितको बैठकले मंगलबार बाट पश्चिम नवलपरासीका सिमा नाका बाट पनि एक सय रुपैयाँ भन्दा माथिका समान ल्याउदा भन्सार तिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
नेपालमा एक सय रुपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानुनी प्रावधान छ । व्यवहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गरिएको थिएन । बेलहिया भन्सारमा गरिएको कडाईसंगै पश्चिम नवलपरासीको महेसपुर भन्सारमा पनि यो व्यवस्था मंगलबार देखि लागु हुने भएको हो । ‘हामिले आवश्यक तयारी गरिरहेका छौ भोली बाटै यो व्यवस्था लागु हुन्छ, भारतिय बजारबाट एक सय रुपैयाँमाथिको समान ल्याउदा अनिवार्य भन्सार तिर्नुपर्छ ।’—महेसपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बुद्धि कुमार चुँडालले भने । चुडाँलले भन्सारका कर्मचारी नरहेको नाकाबाट ल्याएको समान सिधै जफत हुने बताए । सिमा क्षेत्रबाट हुने चोरी निकासको कार्यलाई रोक्न र व्यापार सहजीकरणका लागी सिमामा कडाई गर्ने र सबैले साथ दिने निर्णय भएको उनले बताए । साढे २७ किलोमिटर खुल्ला सिमाना रहेको जिल्लामा कडाई कार्य त्यति सहज भने छैन् । सिमानामा कडाई हुने खबरले जिल्लाका उद्योगि व्यवसायी भने उत्साहित भएका छन् । उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले सिमा नाकामा कडाई नभए नेपाली व्यवसायी थप धरासायी हुने भएकाले यो निर्णय कार्यान्व्यनमा आउनु सुखद भएको बताए । कतिपय व्यवसायीले भारतबाटै चारी पैठारी गरेर ल्याएको समान नेपालमा बेच्ने गरेको भन्दै व्यवसायीले नै चोरी तस्करीमा बढवा दिएको आरोप पनि लाग्दै आएको छ । नवलपरासी पारीको ठुटीबारी लगायतका सिमावर्ती भारतिय बजारमा दैनिक हजारौँ नेपाली किनमेलका लागी जाने गरेका छन् । चितवन देखि समेत नेपालीहरु भारतिय बजारमा दैनिक उपभोग्य समाग्री सहित लत्ताकपडा, ईलेक्ट्रिोनिक लगायतका समान खरिद गर्न जाने गर्दछन् ।