© २०२३
बुटवल,४ असार । कोशी प्रदेश सरकार र प्रदेशको नामाकरणप्रति असन्तुष्ट भई आन्दोलनरत पहिचानवादीबीच पहिलो चरणको वार्ता भएको छ ।
कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र प्रदेश नम्बर १ पुन: नामकरण सङ्घर्ष समितिले बनाएको वार्ता टोलीबीच भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ ।
पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी वार्ता टोलीका संयोजक कोशी सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बताए ।
उनले दुबै पक्षले फेरि वार्ता गर्ने सहमित गरेको जानकारी दिए । उनले भने, ‘विषय र माग उठान भएका छन् । फेरि घनीभूत छलफल गर्ने गरी पुन: वार्तामा बस्छौं ।’
आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाका अनुसार सरकारसँग औपचारिक रुपमा वार्ता सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानवादी दल तथा संगठनले सरकारविरुद्ध आन्दोलन गरेका थिए । यसक्रममा प्रदेश राजधानी केन्द्रित आन्दोलन हुँदा झडप भई एक आन्दोलनकारीको मृत्युसमेत भएको थियो ।
आन्दोलन बढ्दै गएपछि सरकारले मन्त्री मेन्याङ्वोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो भने सङ्घर्ष समितिले आइतबारमात्रै वार्ता समिति बनाएको थियो ।