© २०२३
चन्द्राैटा(कपिलवस्तु), ४ असार ।
पछिल्लो समय तराईका अधिकांश जिल्लाहरुमा तापक्रम बढेकाे छ । जसबाट कपिलवस्तु पनि अछुटाे रहन सकेकाे छैन । तापक्रम बढेसँगै कपिलवस्तुकाे अधिकांश स्थानमा पानीकाे मुहान सुक्ने गरेका छन् ।
मुहान सुक्न थाले पछि पानीको अभाव भएकाे छ । बर्षयामकाे सिजन सुरु भए पनि लामो समय देखि हिउँदे वर्षा नहुँदा खानेपानीकाेसमेत अभाव भएको हुन थालेकाे छ । खानेपानी वितरण गरिरहेका संस्थानले केही दिन यता धारामा पानी नपठाउँदा उपभोक्ता मर्कामा पर्ने गरेकाे स्थानीयकाे गुनासाे छ ।
केही समय यता अधिकांश चापाकल सुकेर पानी आउन छाडेको छ । खाेलानाला, पोखरी तालतलैया समेत सुक्दै गएका छन् । खासगरी जिल्लाको शिवराज, बाणगंगा र बुद्धभुमी नगरपालिकामा खानेपानीको समस्या देखिएको छ । अघिल्ला वर्ष सुक्खायाममा पानीको अभाव भएपनि धेरै समय समस्या नहुने गरेको स्थानीय उत्तम थारु बताउँछन् ।
सेवाग्राहीकाे समस्यालाई मध्यनजर गर्दै ट्यांकरले गाउँटाेल पुगी पानी वितरणथालेकाे चन्द्रौटा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष नारायण भाटले बताए । भाटका अनुसार जमिनमुनि पानीको लेएर घट्दा बोरिङ्गले पानी ट्याङ्कीमा थोरै पठाउँदा ट्याङ्की भरिन करिब १५ घण्टा लाग्ने गर्दछ । समितिका अध्यक्ष भाटले भने : “विद्युतको भोल्टेज कम, नियमित विद्युत्त आपूर्ति नहुदाँ समस्या भएकाे देखिन्छ ।
समस्या जटिल बन्न थाले पछि शनिबारबाट ट्यांकरबाट पानी वितरण सुरु गरिएको छ ।” यता बाणगंगा नगरपालिका वातावरण अभियन्ता हुमनाथ पौडेल जलवायु परिवर्तनसँगै पछिल्लो समय नदी दोहन उच्च हुनुका साथै सिँचाई प्रयोजनका भूमिगत जलस्रोतको प्रयोगले धारा सुक्दै गएको बताए । निरन्तर तापक्रम बढ्न थालेपछि कपिलवस्तुमा यस्ताे समस्या देखिएकाे छ ।