© २०२३
बुटवल,१ असार । बारम्बार विद्युतको लाइन जाने समस्याले आम जनता मर्कामा परेको विषयमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले शुक्रबार नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय युवा संघ रुपन्देहीका ईन्चार्ज नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेतको नेतृत्वमा गएको टोलीले प्राधिकरणका बुटवल वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउंदै एक हप्ताभित्र समस्या समाधान गर्न माग गरेको छ । एक हप्ताभित्र विद्युत आपुर्तिको समस्या समाधान नभए सशक्त आन्दोलन गर्ने संघका अध्यक्ष बस्नेतले बताए ।
संघका जिल्ला इन्चार्ज तथा एमाले युवा नेता शाहीले पछिल्लो समय बढेको चरम गर्मीका बेला विद्युत आपुर्तिमा देखिएको समस्याले जनजीवन प्रभावित भएको बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै वितरण केन्द्रका प्रमुख पाण्डेले स्याङजामा रहेको कालिगण्डकी जलविद्युत आयोजनामा सुख्खा यामका कारण पानी कम भई विद्युत उत्पादन घटेकाले समस्या देखिएको बताए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य केशव रोक्का तथा मनोज गौचन, रुपन्देही उपाध्यक्ष दिपक खड्गी लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको थियो ।