© २०२३
बुटवल, १ असार ।
देवदह नगरपालिका वडा नं. ९ मा टेन स्टार फुड्स प्रालिका संचालक खेम चापागाईले पछिल्लो ६ महिनायता विद्युत समस्यामा छन् । पटकपटक विद्युत कार्यालय पुगेर आफ्ना समस्या सुनाउने र निबेदन दिएका उनको सुनुवाई भएको छैन । चाउमिन उत्पादनका लागि फयाक्ट्री खोलेका उनको छिमेकी सीता पछाइको घरमाथिबाट थ्री फेज लाईनको तार लत्रिएको छ । यस विषयमा समस्या समाधान नभएको उनको गुनासो छ । छिमेकी पटकपटक उनलाई गुनासो लिएर आउने गरेको चापागाइ बताउँछन् । उनको यो मात्र नभई विद्युत सर्ट हुने, भोल्टेज कम आउने जस्ता गुनासो पनि सुनुवाई ढिला हुने गरेको दुःखेसो छ । ‘यो वर्ष धेरै लाईन काट्ने समस्या छ’—उनले भने ।
विकासको गति लिएको देवदह वडा नं ९ को रोहिणी खोला चोकदेखि डाँडा टोल हुँदै जागृति टोल जोड्ने बाटो बिस्तार भैरहेको छ । सोही क्रममा बाटोमा पर्ने विद्युत पोलहरु ब्यवस्थापन गर्न ३ महिनादेखि आग्रह गर्दा पनि सुनुवाई नभएको जनप्रतिनिधिको गुनासो छ । ‘बाटोमा पर्ने ३ वटा नयाँ पोल जडान र ४ वटा पुरानो पोल ब्यवस्थापन गर्नुपर्ने अवस्थामा छ’— वडाअध्यक्ष मोहन जिसीले भने । धेरै आग्रह गर्दा पनि काम नभएपछि उनी बुधबार फोहोरले भरिएको ट्याक्टर लिएर विद्युत कार्यालयमा पुगे । काममा ढिलाई र अटेर गरेको भन्दै उनले नेपाल विद्युत प्राधिकरणको शितलनगर कार्यालय परिसरमा ट्याक्टरको फोहोर खन्याए । कार्यालयमा नियमसंगत राजस्व तिर्ने र काम गराउन लामो समय लगाउने गरेको उनले बताए । देवदहमा नयाँ घरमा विद्युत जडान, उद्योगमा पावर बिस्तार जस्ता काम लिएर जाने उपभोक्ताहरुको समेत समयमा काम नहुने र दबाब दिने गरेका गुनासाहरु आउने गरेको छन् ।
बुटवल विद्युत प्राधिकरण बितरण शाखाका प्रमुख कपिलराज पाण्डेले प्रक्रिया पूरा नभएको हुँदा काममा ढिलाई भएको बताए । अर्कोतर्फ कार्यालयमा जनशक्ति अभाव हँुदा समयमा गुनासो सुन्न नसकिएको उनले बताए । आवश्यक प्रक्रिया पूरा गरेर काम अघि बढाउने सहमति भएको उनले बताए । यता सामाजिक संजालमा भने जनप्रतिनिधि जिसीले मोफसलका बालेन उपनाम र बधाई पाएका छन् । जनताप्रति उत्तरदायी नहुने कर्मचारीहरुलाई नियम कानुनभन्दा पनि सामाजिक दबाबपूर्ण तरिकाबाट विरोधको अभियान थाल्नुपर्ने उनीहरुको धारणा छ ।