© २०२३
बुटवल, ३१ जेठ ।
जुन १४ अर्थात बिश्व रक्तदाता दिवश, हरेक बर्ष बिश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि बिशेष रुपले मनाउने गरिन्छ । नेपालमा पनि रक्तदान, सम्मान लगायतका विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदै छ । वि.सं. २०२० सालमा रक्तदान जिवनदान भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेपालमा स्थापना भएको रेडक्रस सोसाईटीद्वारा यसबर्ष पनि नियमित रक्तदाताहरुलाई सम्मान तथा पदक प्रदान गरिएको छ ।
यसैक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट रक्तदाताहरुलाई स्वर्ण पदक, रजत पदक र सम्मान पत्रले सम्मान गरेको छ । स्वर्ण पदकद्वारा सम्मानित हुनेहरुमा ५० पटक रक्तदान गरेका नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया सिलवालसहित रेनुका श्रेष्ठ, जानकी नेपाल, अनुप थापा र ईश्वरी गौतम रहेका छन् ।
नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौं, जिवन बचाउने कार्यमा हातेमालो गरौं भन्ने मुल नारा सहित आयोजित सो कार्यक्रममा रजत पदक पाउनेहरुमा ३४ पटक रक्तदान गरेका गुप्तबहादुर केसीसहित बुटवल १ का वडा सदस्य अशोक राई, पत्रकार मिना भट्टराई ढकाल, निर्मल कार्की, जयश्याम ठाकुर, बुद्ध श्रेष्ठ, नवराज पन्थी, यादव गिरी, रनिल श्रेष्ठ, केशव कुमार सिंह, सुदर्शन भट्टराई, मनोज शर्मा, धुना गिरी, दुर्गा नेपाल, यमकला कुँवर र राममिलन प्यासी रहेका छन् ।
सो अवसरमा १५ पटक भन्दा बढी रक्तदान गरी प्रशंसा पत्रद्वारा सम्मानित हुनेहरुमा ईश्वरी प्रसाद बन्जाडे, गिरिजा शाही, किश्मत पाण्डे, रजत श्रेष्ठ, पुजन भण्डारी, समुन्द्र पौडेल, अशेष शिलवाल, प्रेमबहादुर रास्कोटी, फौजबहादुर महतरा, कपिलराज उदय, सुरज थापा मगर, खुमराज पौडेल, रोशन पौडल, डा. आतिश पंगेनी, कविता न्यौपाने र राकेश गुरुङ्ग रहेको कार्यक्रमका संयोजक तथा रक्तसंचार केन्द्र बुटवलका ईन्चार्ज राधा ज्ञवालीको भनाई छ् ।
विभुषित तथा सम्मानित हुनेहरुलाई पदक तथा सम्मानपत्र प्रदान गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले मानिसले रक्तदान मार्फत मानिसकै जिवन बचाउनु निकै महत्वपुर्ण पुण्य कार्य भएको कुरामा जोड दिए । भैरहवामा पहिलो पटक यसप्रकारको कार्यक्रम गरिएकोमा सराहाना गर्दै नगर प्रमुख खाँले तराईबासी जनतामा अझै रक्तदानप्रति विश्वास र आकर्षण बढाउन आवश्यक रहेको चर्चा गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटीका पुर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, रेडक्रस रुपन्देहीका सभापति दिपक क्षेत्री, उपसभापति मित्रलाल न्यौपाने, मन्त्री रामचन्द्र उपाध्याय, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रक्तदाताहरुको तर्फबाट अनुप थापा, पत्रकार मिना ढकाल, कार्यक्रम संयोजक राधा ज्ञवालीलगायतले रक्तदानको आवश्यकता, महत्व र मानिसको जिवन बचाउने सवालमा यसको प्रभावबारे चर्चा गरेका थिए । बुटवलमा दैनिक औसत ७० युनिट र भैरहवामा ३० युनिट रगतको खपत रहेको छ ।
सभापति दिपक क्षेत्रीका अनुसार रुपन्देहीमा दैनिक १ सय युनिट रगतको माग रहेको छ भने बाहिरबाट पनि उत्तिकै अनुपातमा माग आउने गरेको छ । आर्थिक बर्ष २०७९÷०८० मा हालसम्म रुपन्देही जिल्लामा ३५ हजारभन्दा बढी युनिट रगत खपत भैसकेको सभापति क्षेत्रीको भनाई छ ।