© २०२३
नेपालगन्ज —
बाँकेमा ‘लू’ र अत्यधिक गर्मीका कारण एक साता बन्द भएको विद्यालयमा अब बिहानी कक्षा सञ्चालन हुने भएका छन् । धेरैजसो पालिकाले एक साता निरन्तर बिदा गर्दा पनि गर्मी र तातो हावा चल्नेक्रम नघटेपछि अब विद्यालय बिहानमात्र सञ्चालन गर्न पाइने निर्णय विभिन्न पालिकाले गरेका हुन् ।
कोहलपुर नगरपालिकाले मंगलबारसम्म बिदा दिएकोमा गर्मी अझै नघटेको जनाउँदै बुधबारदेखि बिहानमात्रै कक्षा सञ्चालन गर्न पाउने गरी विद्यालय खोल्ने निर्णय गरेको हो ।
कोहलपुरमा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले जेठ २२ देखि ३० गतेसम्म गर्मी बिदा दिइएको थियो । मौसममा सुधार नदेखिएकोले गर्मी बिदा थप पनि गरिएको थियो ।
कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरू बिहान ६ देखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र कक्षा ४ देखि १० सम्मका कक्षाहरू मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको बताए । सोही प्रकारको निर्णय नेपालगन्ज उपमहानगर र खजुरा लगायतका पालिकाहरूले पनि गरेका छन् ।
नेपालगन्ज उपमहानगरको शिक्षा महाशाखाका प्रमुख गोरखबहादुर थापाले एक साताभन्दा बढी गर्मी बिदा गरिएको भए पनि गर्मी अझै नघटेकोले अब बिहानमात्र विद्यालय सञ्चालन गर्न पाउने गरी विद्यालय खुल्ने बताए । उनले विद्यालयलाई बिहानमात्र कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको सुनाए ।