© २०२३
सुनवल, २९ जेठ ।
पश्चिम नवलपरासीको प्रतापपुरमा एक दम्पत्तिको हत्या भएको एक हप्ता सम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेपनि हत्यारा भने पत्ता लाग्न सकेको छैन । घटनाको अहिले केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको टोलीले समेत अनुसन्धान गरिहेको छ । डिएसपीको कमाण्डमा रहेको सिआईबीको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अहिले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ ।
“अनुसन्धान जारी छ, केही दिनमै हामीले हत्यारा सार्वजनिक गर्छौ”–जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेयले भने । किन हत्या भयो भन्ने विषयमा विभिन्न एंगलबाट अनुसन्धान भईरहेको र हत्यारा छिट्टै पक्राउ पर्ने पाण्डेयले बताए ।
प्रतापपुर गाउँपालिकाको वडा नं. ८ मजुवामा बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनका ५० वर्षीया श्रीमती निर्मला भेडिहारको यही जेठ २२ गते राति हत्या भएको थियो । टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा उनीहरुको शव प्रहरीले उनीहरुको गोठ अगाडि फेला पारेको थियो ।
उनीहरुको घर प्रतापपुर गाउँपालिकाकै वैरिहवा भन्ने स्थानमा भएपनि गाईबस्तु रेखदेख गर्न उनीहरु घरदेखि चार किलोमिटरको दुरीमा रहेको गोठमा गई सुतेको अवस्थामा उनीहरुको हत्या भएको थियो ।