© २०२३
बुटवल, २८ जेठ ।
स्वयंसेवी भावनाका साथ रगत ब्यवस्थापनमा योगदान दिंदै आएको नेपाल नियमित रक्तदाता संघको केन्द्रीय १९ औं साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनबाट दया बहादुर सिलवालको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा लेखनाथ भण्डारी, उपाध्यक्षमा महेश खनाल, महासचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा प्रेम सुनार (हुकुम), सचिवमा मञ्जु गिरी, उप–कोषाध्यक्षमा बिष्णु भण्डारी, सदस्यहरुमा राजेश गैरे, राजु रसाइली बि.क., मञ्जु खनाल भट्टराई, रुपेन्द्र अधिकारी र बुद्धि प्रसाद ज्ञवाली रहेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भारतमणि पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै युवाहरुको अग्रसरताका कारण रगत अभाव जस्तो महत्वपूर्ण समस्यालाई न्युनीकरण गर्ने अभियान सफल भएको बताए । सामाजिक कार्यमा युवाहरुको अभियान निक्कै उत्कृष्ट भएको भन्दै यो अन्य क्षेत्रलाई समेत सिकाई भएको उनले बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहानले निःशुल्क रक्तदान भएको रगत निःशुल्क पाउने ब्यवस्था सरकारबाट हुनुपर्ने सुझाव दिए । धेरै स्थानीय तहमा लागु भएको भन्दै संघ सरकारको यसमा ध्यान जानुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलकी सदस्यसचिव राधा शर्माले मानवीय पुण्यको काममा रुपन्देहीको सामाजिक कार्यमा अग्रसर रहेको बताइन् । रुपन्देही जिल्लाका ४ सय बढी संघसंस्थाहरु वर्षभरी नियमित रक्तदान गरेर यहाँको माग धान्न सहज भएको उनले बताईन् । यसैबिच कार्यक्रममा संघको कार्यालय स्थापना र विभिन्न समयमा सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।