© २०२३
दाङ, २८ जेठ ।
लमही नगरपालिका–९ अमिलियाबाट बाघको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ का ३१ वर्षीय वीरबहादुर पुन, ४० वर्षीय आशाराम बिक, २५ वर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका–३ का २८ वर्षीय अमलाल घर्तीमगर रहेका छन् । बाघको छाला ओसारपसार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
उनीहरुसँग नौ फिट छ इन्च लम्बाई र पाँच फिट १० ईन्च चौडाई भएको बाघको छाला एक थान, बाघको एक सय ४१ वटा हड्डी, (८ किलो) बा २० प ९०७२ नम्बरको मोटरसाइकल र यु ७०६९ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिइएको छ । गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र इप्रका अमिलियाबाट खटिएको प्रहरीको टोलीले शुक्रवार नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिए ।