© २०२३
दाङ, २६ जेठ ।
घोराही १७ चौघेरा निबासी धनाकुमारी घिमिरे आफ्नो नाममा रहेको ६ धुर जग्गा केही जग्गा ब्यवसायीले गरेको जग्गा प्लटिङको लागि पास गरेर दिइन् । घोराहीका प्रतिष्ठित जग्गा ब्यवसायीहरुले सोही ठाउँकै भैसाहीको ८ बिगाहा जग्गामा गरेको प्लटिङमा धनाले आफ्नो नाममा भएको सो जग्गा जग्गा ब्यवसायीहरु घोराही १८ घर भइ हाल घोराही १५ निवासी उपेन्द्र भनिने खेमराज शर्मा, घोराही १७ भैसाहीका दामोदर घिमिरे, सोही ठाउँकै हरिप्रसाद चौधरीले संयुक्त नाममा पास गरी लिए ।
थोरै जग्गा कित्ताकाट गरेर सोही ठाउँका चुल्लुराम चौधरीको नाममा पास गर्न ती जग्गा ब्यवसायीले लगाए । प्लटिङपछि गाउँले जग्गाधनीहरुलाई ६० प्रतिशत र अरु बाँकी ४० प्रतिशत जग्गा ब्यवसायीले सुविधा पुर्याउने नाममा लिए । उनीहरुले ७ मिटरको पिच बाटो, पक्की नाला, बिजुलीको तार पोल समेतको सुविधा सम्पन्न घडेरी बनाएर दिने कागज गरे ।
तर, धनाको सन्दर्भमा सत प्रतिशत ६ धुर (१०१.५८ वर्ग मिटर) को सट्टामा १२ हात मोहडा, ४० हात पिछवाड भएको तयार घडेरी दिने भन्ने सम्झौता त्यही जग्गा ब्यवसायी समूहका घोराही १७ कै पदम बहादुर घर्तीसंग भएको थियो । तर, उक्त जग्गा ब्यवसायी समूहले झुक्याएर पीडित धनालाई हरिद्वार ९ ग कित्ता नम्बर ७५२ बाट ४.५० वर्ग मिटर र कित्ता नम्बर ७६५ बाट ९.२५ वर्ग मिटर गरी जम्मा १३.७५ वर्गमिटर मात्र (एक धुर पनि नपुगेको) जग्गा उपलब्ध गराई ठगी गरेका थिए ।
पीडित घिमिरेले झण्डै १० महिनापछि जग्गा बिक्री गर्न मालपोत गएको बेला पीडित धनाले आफु ठगिएको चाल पाईन् । उनले आफ्नो गुनासो ती ठग्ने जग्गा ब्यवसायीहरुलाई सुनाईन् । सम्झौता बमोजिमको जग्गा प्राप्तीको लागि उनी एक महिना रोइन्, कराईन् । तर, कसैले सुनेनन् । उनी बाध्य भएर ती ठग्ने जग्गा ब्यवसायी विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिन गइन् । प्रहरीले ती ठगीमा संलग्न शर्मा, चौधरी, घर्तीलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आफ्नो गल्ती स्विकार गरेको र क्षतिपूर्ति बापत उनले पाउने जग्गाको मूल्यको दोब्बर रकम १८ लाख दिने सहमति गरे । धनालाई पहिलो किस्ता स्वरुप ९ लाख दिए भने बाँकी ९ लाख आगामी असोज भित्र उपलब्ध गराउनेमा सहमति जनाए । जाहेरीमा आरोपित दामोदर घिमिरेलाई बारम्बार यो समस्या समाधान गर्न पीडितले अनुरोध गर्दा बेवास्ता गरी हाल नेपाल बाहिर भागी गएको स्रोतले जनाएको छ । धना एकल महिला हुन् ।