© २०२३
नयाँ दिल्ली । आफ्नो चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदैछन् । त्यसअघि भ्रमणको तेस्रो दिन शुक्रबार प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका छन् ।
दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रचण्डले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरे । पूजापाठमा सरकार अन्य मन्त्रीहरू र भ्रमण प्रतिनिधिमण्डल सहभागी थिए । त्यसअघि इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलगायत सरकारी अधिकारीले स्वागत गरेका थिए ।
सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्रीलाई स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए ।
विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए । विमानस्थलबाट उनी उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा पुगेका थिए । यसैगरी प्रधानमन्त्रीले इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन पनि गरे ।
सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताए ।
कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए ।
सो केन्द्रले फोहरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधनमा प्रयोग गरिँदै आइएको छ ।
केन्द्रको अवलोकनपश्चात् प्रधानमन्त्रीले नेपालबाट प्राविधिकहरू पठाई फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए ।
प्रधानमन्त्री दाहालको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्रीको रात्रि भोज
यसैबीच प्रधानमन्त्रीको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले शुक्रबार रात्रि भोजको आयोजना गरे ।
होटेल म्यारियटमा मुख्यमन्त्री चौहानले नेपाल र भारतबीच सदिऔँदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप विस्तार गर्नका लागि प्रधानमन्त्रीको भारत भ्रमण भएकामा प्रसन्नता व्यक्त गरे । नेपाली ढाका टोपीमा देखिएका चौहान र प्रधानमन्त्रीबीच सो अघि भेटवार्ता भएको थियो ।
भ्रमण सफल – प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले आफ्नो चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबी गरे । यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको उनको भनाइ छ ।
उनले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताए । उनले इन्दोरमा भने, ‘भ्रमण खास अर्थमा फलदायी भएको छ । ऊर्जा व्यापारका सम्बन्धमा भएका सहमति आफैँमा एक प्रकारको ‘ब्रेक थ्रु’ नै हो । जुन कुरा हामीले लामो समयदेखि चाहिरहेका थियौँ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको उनको भनाइ थियो ।
नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठुलो लगानी भित्र्याउनसमेत बल पुग्ने उनले बताए । दश वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ ।
निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे ।
प्रधानमन्त्रीले नेपाल, भारत र बङ्गलादेशबीच अब त्रिपक्षीय सहमति नै भएको भनेर मान्न सकिने उल्लेख गरे ।
प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेक जसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको बताए ।
यसअघि शुक्रबार बिहान दिल्लीमा सञ्चारकर्मीहरुँग कुरा गर्दै पनि प्रचण्डले भ्रमण फलदायी भएको बताएका थिए ।