© २०२३
दाङ, १९ जेठ ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा र महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजनामा प्रजनन् स्वास्थ्य सम्बन्धी छलफल भएको छ । सो छलफलमा प्रजनन् स्वास्थ्यमा स्थानीय तहले प्राथमिकता दिनुपर्ने निश्कर्ष निकालिएको थियो ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्ध निर्देशक बसन्त खनालले कार्यक्रमबारे प्रकाश पार्दै समुदायस्तरमा अझै पनि महिलाले प्रजनन् स्वास्थ्य सम्बन्धी बिभिन्न समस्या लुकाएर राख्ने प्रवृत्ति कायम भएको हुँदा यसको समस्या समाधान हुन नसकेको बताए । परिवार नियोजन संघले समय समयमा स्वास्थ्य शिबिर राख्ने गरेको र सो शिविरमा आउने महिलाहरुमा बिभिन्न स्वास्थ्य समस्या देखापर्ने गरेको बताए । श्रीमान्संग रोग लुकाएका महिलालाई परामर्स मार्फत उपचारका सहभागि गराउने गरेको बताए । दाङका १० वटा स्थानीयतहहरुमा नेपाल सरकारले स्वास्थ्य सम्बन्धि बजेट पठाउने गरेपनि लक्षित वर्गका लागि स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन हुन नसकेको बताए ।
कार्यक्रममा केही दिन पहिले शान्तिनगर गाउँपालिकाको १ र ७ नम्वर वडामा नेपाल परिवार नियोजन संघ र महिला पुनस्र्थापना केन्द्र (ओरेक) को सयूक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरको प्रतिवेदन ओरेकका रुकुम संयोजक दिपा धितालले प्रस्तुत गरेकी थिइन् । पालिका भित्रका ३ सय ४१ जना महिलाले स्वास्थ्य सेवा लिएको मध्ये पाठेघरको मुखमा घाउ भएका ४९ जना, पाठेघरको मुख सुन्निएका ५७, पाठेघरको क्यान्सरको पोजेटिभ ४ जना, पाठेघर झरेको ७ जना र पाठेघरको मुखमा मासु पलाएको ५ जना भेटिएको उनले जानकारी दिइन् ।
महिलाहरुका १७ प्रकारका रोगको उपचार गरिएको र जटिल प्रकारका बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर समेत गरिएको थियो ।
कार्यक्रममा ओरेक नेपाल केन्द्रका कार्यक्रम सञ्चालक तथा व्यवस्थापक सुनिता मैनालीले महिलालाई मेरो शरिर मेरो अधिकार भन्ने विषय अझै बोल्न सक्ने वातावारण नभएको बताइन् । आफ्नो शरीरको रोगका बारेमा नजिकको साथी श्रीमानलाई समेत लुकाएर महिला पिडामा बाच्नु परेको बताइन् । ओरेकले महिलाको प्रजनन् स्वास्थ्यका विषयमा विगतदेखि काम गर्दै आएको उनले बताइन् ।
प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार लक्ष्मी आचार्य लगायतले महिलासंग सम्बन्धित रोगमा फराकिलो सोच नआएको बताए । नागरिकहरुमा सोच, विचार परिवर्तन हुन नसक्दा यसको निराकरण हुन नसकेको बताए । दुरदराजका बस्तीहरुका महिलाहरु स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस् भनेर हरेक स्थानीय तहमा महिला स्वास्थ्यकर्मी सहितको सुविधा हुनुपर्ने बताए । ओरेकका कार्यसमिति सदस्य पद्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ओरेकका बिन्दु शर्माले गरेकी थिइन् ।