© २०२३
रोल्पा, ७ जेठ ।
रोल्पामा जेष्ठ ५ र ६ गते सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीकासुरज पराजुली प्रथम भएका छन् । प्रतियोगितामा सल्यानकी कल्पना परियार दोश्रो र धादिङका सिर्जना अर्याल तेश्रो भएकी छिन् । प्रतियोगितामा नवलपरासीका अन्जन प्रदीप र धादिङका रोशन रिजालले सान्त्वना स्थान हासिल गरेका छन् ।
रोल्पा नगरपालिका, नगर कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा देशभरवाट प्राप्त भएका १६५ कविता मध्ये छोटो सूचिमा परेका १० कविताको अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विजेताहरुलाई क्रमशः ३५ हजार, २५ हजार, २० हजार र १० हजार रुपैयाँ नगर, पदक, ट्रफी र प्रमाण पत्र उपलव्ध गराइएको नगर कला साहित्य प्रतिष्ठानका अध्यक्ष नवीन लोचन मगरले जानकारी दिए । रोल्पा सिर्जना महोत्सव नाम दिएको उक्त कार्यक्रममा अन्य विविध विषयका शेसन समेत संचालन गरिएको थियो । शेसनकमा कला साहित्य, पर्यटन, गाउँको सरकार, आदीवासी सत्ता जस्ता विषय समावेश गरिएको थियो ।
रोल्पा नगरपालिकाले हरेक वर्ष यस्तो कार्यक्रम संचालन गर्दै आएको छ । रोल्पा सिर्जना महोत्सवको नाममा संचालित यस वर्षको कार्यक्रम चौथो संस्करण हो । महोत्सवले जिल्लाको कला संस्कृतिको विकास तथा पर्यटनको प्रवद्र्धनमा मद्दत पुगेको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीमगरको भनाई छ । महोत्सवको लुम्विनी प्रदेशका पूर्व मन्त्री जोखवहादुर महराले उद्घाटन गरेका थिए । महोत्सवमा देशका विभन्न जिल्लाका कवि कवयत्रीहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएका छन् ।