© २०२३
दाङ, ६ जेठ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् । तुलसीपुर –१९ मा रहेको ऐतिहासिक एवम धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा जथाभावी रुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्यहरु नष्ट भएको बताए ।
कार्यक्रममा पोखरेलले त्यहाँ रहेको ऐतिहासिक हातहतिहारहरुको संरक्षण गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनी मुख्यमन्त्री भएको समयमा एकीकरण स्थलहरुको संरक्षण गर्ने कार्यक्रम ल्याए पनि पछिल्ला सरकारहरुले निरन्तरता दिन नसक्दा समस्या सिर्जना भएको बताए । नेकपा एमालेका महासचिव समेत रहेका पोखरेलले सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रका बारेमा यथेष्टरुपमा समेटिन नसकेको बताए । उनले पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि पर्यटन मार्गको लागि पछिल्ला समयमा बजेट कटौती गर्दा पर्यटकहरु त्यहाँ पुग्नका लागि समस्या सिर्जना भएको बताए । उनले मुख्यमन्त्री भएको समयमा त्यस क्षेत्रमा खानेपानी, मन्दिर जिर्णोद्वार, विद्युतको व्यवस्था गरिएको बताए ।
संरक्षण समितिका अध्यक्ष परवीर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पछिल्लो समयमा छिल्लीकोटको विकासका लागि साहसिक खेल जीपलाइन निर्माणको अन्तिम चरणमा पुगेको बताए । उनले पालिकाबाट होमस्टेको विकासका लागि व्यवस्थापन गरिएको र सुरक्षाका लागि आवश्यक प्रबन्ध गरिएको बताए । उनले त्यहाँ रहेका ऐतिहासिक बस्तुहरुको संरक्षणमा विशेष ध्यान दिइने बताए ।
छिल्लीकोटसम्म पुग्नका लागि बिजौरी स्यालापानी हुँदै कालोपत्रे सडक निर्माण सुरु गरिएको छ भने स्यालापानीबाट केबुलकारका लागि विस्तृत विवरण प्रतिवेदन (डिपिआर) समेत तयार पारिएको छ । छिल्लीकोट राज्य एकीकरणसंगै नेपालमा गाभिएको थियो ।