© २०२३
दाङ, ४ जेठ ।
नक्कली शरणार्र्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा उच्च तहका व्यक्तिकै संलग्नता देखिएपछि नागरिकहरू स्वतस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि बुधबार दाङको घोराहीमा भ्रष्टाचार विरुद्ध नागरिक अभियान कार्यक्रम भएको छ ।
नागरिक समाज दाङका संयोजक केबी मसालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाका व्यक्ति, निकायको उपस्थिती थियो । ‘भ्रष्टाचार देशकै ठूलो रोग हो । यसको विरोध गर्न कुनै दलको झन्डा नबोकौँ, जसले जहाँबाट हुन्छ, विरोध गरौँ भनेर स्वतस्फुर्त रूपमा कार्यक्रम तय भएको हो, यसमा हामीले अगुवाई मात्रै गरेका हौँ’, नागरिक समाज दाङका संयोजक केबी मसालले भने ।
खबरदारी कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकी, मानव अधिकार सन्जाल दाङका अध्यक्ष केशबकुमार शर्मा, ऋषिराज जंगली, जिल्ला बारका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे, पत्रकार लक्ष्मी आचार्य, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, डा. हिमलाल पन्थीलगायतले देशको वर्तमान अवस्थाका बारेमा विषय उठान गर्दै देश बचाउन सबैको खबरदारी आवश्यक रहेको बताएका थिए ।
‘भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौँ, त्यहीँबाट आवाज उठाऔँ, खबरदारी गरौँ, दबाब दिऔँ । नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्र्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ’ सहभागीको भनाइ थियो । नागरिक समाजले गरेको खबरदारी अभियानमा सबै संघ सस्थाको उपस्थिति थियो । सो अवसरमा राप्ती साहित्य परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले भ्रष्टाचारको विरुद्धमा मुक्तक वाचन गरेर खवरदारी गरेका थिए भने सिस्नोपानी नेपालका डा लोकराज पराजुलीले कविता वाचन गरेर खवरदारी गरेका थिए ।