Butwal Today

विपश्यना ध्यान केन्द्रले असल मानव बनाउने

४ जेष्ठ २०८०, बिहीबार
अ+
अ-

दाङ, ४ जेठ ।

घोराही १३ तुरुन्तपुरमा रहेको विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्र धम्मपरागमा केही वर्षयता मानिसलाई चरित्रवान, कर्तव्यनिष्ठ, इमान्दार बन्न प्रेरित गर्दै सभ्य, सुसंस्कृत समाज निर्माणमा भूमिका खेल्ने उद्देश्यले ध्यान केन्द्र संचालनमा आएको छ । त्यहाँ ध्यान गर्न पुग्नेहरु आफूमा परिवर्तन आएको महसुस गर्छन् ।

बुधबार विपश्यना ध्यान केन्द्रमा आनापान गरिएको छ । उपस्थित प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतले ध्यान केन्द्रमा बसेर श्वास प्रश्वासका बारेमा जानकारी लिँदै आनापानको महत्व बारे बुझने मौका पाएका थिए ।

प्रमुख जिल्ला अधिकारी वैद्यले विपश्यनाका बारेमा सुनेको तर यसरी पहिलो पटक साक्षात्कार गर्ने अवसर पाउँदा मन निकै उत्साहित भएको बताए । यस्ता कार्यक्रमले मानिसमा सकारात्मक बिचार आउने उनको भनाइ थियो ।

केन्द्रबाट आएका वरिष्ठ विपश्वी साधक मेघराज ज्ञवालीले विपश्यनाका बारेमा जानकारी गराएका थिए । उनलाई सहभागीका तर्फबाट इन्जिनियर अनन्तराज घिमिरेले जीवन के हो ? भन्दै जिज्ञासा राखेका थिए । अन्य सहभागीले पनि चन्चल मनलाई एकाग्र बनाउन के कुरामा ध्यान दिने, चित्त शुद्ध बनाउन गर्नुपर्ने असल अभ्यासका सूत्र बारे जिज्ञासा राखेका थिए ।

दाङको संचालन भएको ध्यान केन्द्र नेपालको १८ औं ध्यान केन्द्रमा सूचिकृत भएको बरिष्ठ पत्रकार एवं केन्द्रका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । शर्माको अगुवाइ र परिकल्पनामा बिपश्यना ध्यान केन्द्र स्थापना भएको हो ।

२०७६ सालमा स्थापित संस्था शान्ति, अहिंसा र करुणाका प्रतिमूर्ति विश्व शान्तिका अग्रदूत गौतम बुद्धले प्रतिपादन गरेको विपश्यना ध्यानका माध्यमबाट मानिसलाई चरित्रवान, कर्तव्यनिष्ठ, इमान्दार बन्न प्रेरित गर्दै सभ्य, सुसंस्कृत समाज निर्माणमा अग्रसरता बढाउने लक्ष्यका साथ असल मानव बनाउने अभियानमा जुटेको छ । “भौतिकवादमा लिप्त मानिसलाई कसरी मन एकाग्र बनाउन सिकाईन्छ भनेर हामीले विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्र स्थापना गरेका हौं”– धम्मपरागका अध्यक्ष नारायणप्रसाद शर्माले भने । उनले मानिसमा अहंकार बढ्दै गएको, मानवता हराउँदै गएको बेलामा यसको महत्व बारेमा आम मानिसमा पुर्याउन आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश सरकारको सहयोग तथा घोराही उपमहानगरपालिकाको समन्वय र सहजीकरणमा ध्यान केन्द्रको हल, आवास, भान्साघर, शौचालय लगायतका संरचना निर्माण गरिएको छ ।

महिनामा २ पटक १० दिने शिविर नयाँ सहभागीको लागि संचालन हुन्छ । विश्वभर जुनसुकै स्थानको शिविरमा बस्नको लागि १ रुपैयाँ पनि पैसा लाग्दैन । १० दिनसम्म खान र बस्न पूर्णरुपमा निःशुल्क हुन्छ । शिविरको अन्तिम दिन आफ्नो स्वेच्छाले दानदिन सकिन्छ । विपश्यना ध्यान केन्द्रबाट अहिलेसम्म सयौँले सेवा लिई सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?