© २०२३
बुटवल, २ जेठ ।
तिलोत्तमा नगरपालिकाका एचबि बर्मा एकल साईकल यात्रामा वैशाख २८ गतेबाट निस्केका छन् । मुखको क्यान्सरको उपचारपछि क्यान्सर रोग बारेमा सचेतना जगाउन यात्रामा निस्केका हुन् । उनी यात्राको क्रममा मानिसलाई स्वस्थ्य रहन साईक्लिङको महत्व, र्दीघरोग क्यान्सरको अनुभव बताउँछन् ।
क्यान्सर जस्तो दीर्घरोग के हो ? यसबाट कस्तो सचेतना अप्नाउने? कुराहरु उनी युवा पुस्ताहरुलाई बताउँदै यात्रामा छन् । उनी पाँचौ दिन मंगलबार भालुवाङ आईपुगेका छन् । उनी मुख्य चोक, विद्यालयमा पुगेर आफनो यात्राको उद्येश्य बताउँछन् । गुट्खा सुर्ती, चुरोट जस्ता पदार्थहरु सेवन नगर्न उनले सुझाव दिन्छन् । नेपाल–भारत सिमा गड्डाचौकी नाकाको महेन्द्रनगरबाट यात्रा शुरु गरेका बर्मा आफु पुगेको अधिकाश ठाउमा क्यान्सर र यसको निदानबारे बताउँछन् । दुई दिन अघि महेन्द्रनगर पुगेका उनले त्यहाको धार्मिक, पर्यटकीय क्षेत्रहरुको भ्रमण, विद्यालयमा पुगेर क्यान्सर रोगका बारेमा छलफल गरे ।
उमेर ६१ वर्षीय एचबी बर्माको साइकल यात्राको तेस्रो दिन नेपालगन्जमा भब्य स्वागत भयो । उनी त्यहाँ पनि विभिन्न स्थानहरुमा पुगे । क्यान्सर र दैनिक जीवनमा साइकलको महत्वबारे युवा पुस्तामा जानकारी दिए । तिलोत्तमा नगरपालिका–४ मा स्थायी घर भएका बर्माको पहिचान साईकिलेको रुपमा छ । विगत १० वर्षदेखि उनी नेपालका हरेकजसो साईकल कार्यक्रममा देश घुमेका छन् । बर्मा साईकल अभियन्ता भन्न रुचाउँछन् ।
यसअघि उनी नेपाली प्रहरीमा सेवारत थिए । सो क्रममा नवलपरासी, बाग्लुङ, बुटवल, नवलपरासी, अर्घाखाँची, कपिलबस्तु लगायत धेरै ठाउँ उनी घुमेका छन् । योभन्दा बढी उनी साईकलबाट देश नजिकबाट बुझेका छन् । उनी नेपाल पुलिसमा हवल्दार पदबाट अवकास पाएका हुन् । आफनो महाकालीबाट शुरु गरेको यात्रा मेची पुगेर समापन गर्ने उनले बताए । यात्राको क्रममा धेरै जनाबाट सहयोग मिलेको उनी बताउँछन् । उनको यात्रालाई सैनामैना साईकल साथीबाट जर्सी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबाट आफनो शाखाहरुमा आतिथ्यता सौजन्य गरेको छ ।