© २०२३
काठमाडौँ ।
भुटानी शरणार्थीका नाममा ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरुलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप छ।
जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। तर शेर्पा त्यसअघि नै फरार छन्। यो प्रकरणमा ठूला नाम संलग्न भएको र पक्राउ पर्न थालेपछि उनी मोवाइल स्वीचअफ गरेर फरार छन्।
खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।
तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। खाँण गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्। रामेछापका शेर्पा २०७० सालको निर्वाचनमा कांग्रेसबाट सांसद बनेका थिए।