© २०२३
पार्वती न्यौपाने
बुटवल, ३० वैशाख ।
तिलोत्तमा ४ शितलकुन्ज टोलको चाँदनी मार्ग उत्तरपट्टीको एक घरको कम्पाउन्डभित्र बेबारिसे मोबाइल फेला परेको छ । कम्पाउन्ड भित्र रहेको सानो करेसामा मोबाइल राख्ने ब्याग सहित सामसुङ मोबाइल फेला परेको हो । घरमा भाडामा बस्नेले बिहान करेसामा पानी राख्ने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त पथमा दुई महिनाको अवधिमा मात्रै छ पटक चोरीका घटना भएकोले चोरले कम्पाउन्डबाट भाग्ने क्रममा मोबाइल खसालेको हुन सक्ने स्थानीय र प्रहरीले आशंका गरेका छन् । मोबाइलको लक खोल्न र बाँकी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बुटवलमै जानू पर्ने भएकोले केही समय लाग्ने ड्राइभरटोल प्रहरी चौकीका एम पेमिले बताएका छन् ।
पटक पटक एकै पथमा चोरी भैरहँदा स्थानीय त्रसित बनेका छ्न । गत फगुन १० गते समिरा थापाको घर भित्रैबाट आइफोन टुभेल प्रो म्याक्स, सामसुङको ट्याप, एमआइको मोबाइल चोरी भएको थियो । एक साता नबित्दै सोही पथका कल्पना क्षेत्रीको घरमा झ्यालबाट लौरोले मोबाइल तान्दै गरेको अवस्थामा देखेर चिच्याउँदा लौरो छोडेर भागेको थियो । सोही रात उनकै घर आगाडि पार्किङ गरेर राखेको कारबाट पर्स निकाली नगद लगेर पर्सभित्र राखिएको लाइसेन्स ब्लुबुक जस्ता कागजात र पर्स समेत बाटोमा ठाउँठाउँमा फालिएको अवस्थामा भेटिएको कारधनी बाल्कृष्ण पोख्रेलले बताए । साथै चैत २८ गते सोही पथमा भाडामा बस्ने नम्रता गिरीको गियरवाला साइकल समेत चोरी भएको गिरिले बताइन् ।
केही दिन अगाडि मात्रै पनि रातीमा रेलिङमा सुकाइराखेको कपडा समेत बिहान उठ्दा नभएको र रेलिङ नजिकै लगाएको फुलमा समेत कुल्चेर कपडा निकालिएको अर्जुन पोख्रेलले बताए । यसरी पटकपटक चोरको बिगबिगी बढेकोले स्थानीय प्रहरी प्रशासन र स्थानीय निकायले समेत ध्यान दिनु पर्ने, रात्रीकालिन गस्ती बढाउनु पर्ने, विभिन्न स्थानमा सिसि टिभी जडान गरिदिनु पर्ने जस्ता माग स्थानीयले गरेका छन् । यता प्रहरीले भने चोरीलाई निरुत्साहित गर्न स्थानीय बासिन्दा नै बढी सक्रिय हुन तथा ब्यापारीले समेत शंकास्पद व्यक्तिबाट सस्तोमा सामान खरिद गर्नुको साटो प्रहरीलाई खबर गरिदिन आग्रह गरेका छन् ।