© २०२३
बुटवल, ३० वैशाख ।
महिला सशक्तिकरण पाटोका रुपमा रहेको आर्थिक आयआर्जनलाई मध्यनजर गरी देवदहका महिलाहरुलाई ३ महिने रोजगारमा आधारित सौन्दर्यकला तालिम दिईएको छ ।
घरायसी कामकाजमा ब्यस्त रहने महिलाहरुलाई लक्षित गरी रोटरी क्लब अफ बुटवल डाउनटाउनको सहयोगमा श्री चेली कृषि सहकारी सस्थाको आयोजनामा ३ महिने निःशुल्क सौन्दर्यकला तालिम दिईएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच तालिम समापनमा सहभागीहरुलाई रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटानका एजी सिए प्रेम भुर्तेल, क्लबका अध्यक्ष भरत राना, क्लबका पुर्वअध्यक्ष पिताम्बर ज्ञावली, नर बहादुर श्रीष, क्लबका सेकेण्ड भिईपी धर्म ज्ञवाली, श्री चेली कृषि सहकारीका अध्यक्ष सावित्रा बस्याल, ब्युटीपार्लर तालिम प्रशिक्षक रिता श्रेष्ठले प्रमाणपत्रसंगै ३० ओटा सिलाइकटान मेसिन हस्तान्तरण गरेका छन् ।
रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटानका एजी सिए प्रेम भुर्तेलले महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म सधै समाजमा समानता नआउने भन्दै यसमा स्थानीय सरकारको साथ र सहयोग जरुरी रहेको बताए । महिला स्ववलम्बन, जागरणका योजनालाई प्राथमिकता दिएर सहकार्य गर्न सधै तयार रहेको उनले बताए । महिलाहरुलाई आधारभुतसंगै थप सीप सिकाउने गरी एडभान्स तहका तालिम आगामी दिनहरुमा दिईने उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष भरत रानाले वार्षिक कार्ययोजना बनाएर महिला सशक्तिकरणको अभियानलाई निरन्तरता दिदै आएको बताए । महिला स्वरोजगारमुलक सीप तालिम गरिएको उनले बताए । तालिममा सिकेको सिपलाई ब्यवसायिक रुपमा ब्यवहारमा लागू गर्न सुझाव दिदै उनले आयआर्जनमा महिलालाई जोडने गरि कार्यक्रम गर्दा क्लब देशभरमा उत्कृष्ट हुन सफल भएको बताए ।
क्लबले स्पोन्सर गरेको स्थानमा रोटरी गाउँ गठन गरिएको छ । सो क्षेत्रमा शिक्षा, स्वस्थ्य, सरसफाई, महिला सशसक्तिकरणको कार्यक्रमहरु गरिदै आएको छ । फागुन देखि सुरु भएको तालिममा दुई दर्जन बढी सहभागी रहेका थिए ।