© २०२३
दाङ, ३० वैशाख ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि आफन्तजनले न्याय पाउनु पर्ने माग गरेका छन् । विहीबार घोराही उपमहानगरपालिका ८ सौरीकी मधु बुढाथोकी केसीको अस्पतालमा सामान्य अवस्थामा सुत्केरी भएपश्चात पछि मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै शुक्रवार दिनभर आन्दोलन गरेका हुन् ।
मृतकका आफन्तले प्रतिष्ठान प्रशासनसँग घटनाको छानबिन तथा उचित क्षतिपूर्तिको माग राखेका छन् । मृतकको क्षतिपूर्तिवापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले बेहोर्नुपर्ने, मृतकको शरीरको सबै अङ्गको परीक्षण हुनुपर्ने उनीहरूको माग छ ।
उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराई आफू खुशी उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान् शेरबहादुर केसीले जानकारी दिए ।
मृतकको परिवारलाई उचित क्षतिपूर्ति, लापरवार्ही गर्नेलाई कारबाहीसँगै शिशुको पालनपोषण र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नुपर्नेलगायतका माग राख्दै बिहानैदेखि आन्दोलनमा उत्रिएका छन् । शरीरको सबै अंग परीक्षण हुनुपर्ने उनीहरुको माग छ ।
घट्नाका विषयमा निकास खोज्न शुक्रबार दुई चरणमा प्रतिष्ठान र पीडित पक्षबीच छलफल भए पनि निकास निस्कन नसेकेको पीडित पक्षले जनाएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले चासो लिँदै प्रतिष्ठान र पीडित पक्षलाई राखेर समस्याको निकास निकाल्न आग्रह गरेका थिए ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर वसन्त लामिछानेका अनुसार उपकुलपति विकास लामिछाने र रजिष्ट्रार प्रकाश थापा दुवै जना जिल्ला बाहिर भएकाले शुक्रबारको छलफल निष्कर्ष विहिन भएको छ । पीडितहरुको माग सम्बोधनका लागि प्रतिष्ठानले अर्को बैठकबाट निष्कर्ष निकाल्ने जनाएको छ ।