© २०२३
सुनवल, ३० वैशाख ।
रकम भुक्तानीको सहमतिपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा लागेको ताला खुलेको छ । बर्दघाट ४ मा पर्ने खोला सफाईको काम गरेको १० महिना हुँदा समेत भुक्तानी नपाएको भन्दै शुक्रबार दिउँसो बर्दघाट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको थियो । उपप्रमुख रुद्रप्रकाश उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई भित्रै राखेर उपभोक्ता समितिका पदाधिकारीले नगरपालिकाको मुल ढोकामा तालबन्दी गरेका हुन् ।
तालाबन्दीपछि साँझ सम्म भएको छलफलमा खोला सफाई बापतको रकम भुक्तानी गर्ने सहमति भएको छ । १८ लाख रुपैयाँ पाउनुपर्ने माग गर्दै आएका उपभोक्ता समितिले कामको मुल्याङ्कनको आधारमा १४ लाख २९ हजार भुक्तानी गर्ने सहमति भएको उपभोक्ता समितका अध्यक्ष मोहन विकले जानकारी दिए । आफुहरुले २९ लाख बढीको खोला सफाईको काम गरेको उपभोक्ता समितिले दाबी गर्दै आएपनि प्राविधिक मुल्याङ्कको आधारमा देखिएको रकम समेत घटाएर झुक्तानी गर्ने भनी १८ लाख दिने भनेपनि नगरपालिकाले भुक्तानी गरेको थिएन् । “१८ लाखमा पनि २० प्रतिशत रकम घटाएर भुक्तानी गर्ने कुरा भएको छ”, विकले भने ।
गत वर्षको वर्षायाममा बर्दघाट ४ मा पर्ने टिसिएन खोला, विशैया लगायतका खोलाका कारण बस्तीमा बाढी पस्ने जोखिम भएको भन्दै खोला सफाई गरिएको थियो । तर नयाँ आर्थिक वर्ष सुरु भएर सकिन लाग्दा समेत भुक्तानी नपाएपछि खोला सफाईको काम गरेकाहरु आन्दोलित भएका हुन् । नगरपालिका संग कुनै खोला सफाई गर्ने कुनै सम्झौता नगरी खोला सफाईको काम गरिएको थियो । तर विपद्का बेला मौखिक सहमतिमा खोला सफाई गरिएको र पछि नगरसभा बाट निर्णय हँुदा समेत भुक्तानी नहुनु शंकास्पद भएकाले आन्दोलित हुुनुपरेको उपभोक्ता समितिका अध्यक्ष सन्तोष गुरुङ्गले बताए । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले उपभोक्ता समितिले कागजी प्रक्रिया पुरा गर्न बाँकी रहेकाले भुक्तानी हुन नसकेको बताउँदै काम भएको रकम भुक्तानी गर्ने बताए ।
शुक्रबार नगर प्रमुख शम्भुलाल श्रेष्ठ नभएको समयमा तालाबन्दी भएको थियो । रकम भुक्तानीको विषयमा नगरप्रमुख श्रेष्ठ सकारात्मक भएपनि प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुख सकारात्मक नहँुदा भुक्तानी हुन नसकेको स्रोतले बताएको छ ।
आनन्दननगर टोल विकास समितिका चित्र बर्माले आफुहरुले ऋण खोजेर काम गरेको बताउदै अब व्याज समेत बढ्दै गएको अवस्थामा लामो समय सम्म काम गरेको पैसा भुक्तानी नभएकाले तालाबन्दी गर्नुपरेको बताए । नगरप्रमुख एकातर्फ प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुख अर्को तर्फ मिलेर भुक्तानी नगरी आफुहरुलाई रनभुल्लमा पारेको उनको भनाई थियो ।
उक्त खोला सफाईको कामको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको बताईएको छ ।