© २०२३
भैरहवा, ६ बैशाख ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसले बुद्धजन्मस्थल लुम्बिनीबाट नयाँ सेमेस्टर सुरुवात गरेको छ ।
लुम्बिनी बौद्ध बिश्वविद्यालयले भोट बौद्ध अध्ययनको नयाँ कक्षा सुरु गरको हो । क्याम्पसले हरेक कार्यक्रमको नयाँ शैक्षिक सत्र सुरु हुँदा अभिमुखीकरण दिँदै आएको छ । यसपटक भोट बौद्ध अध्ययनको नयाँ कक्षा शाक्यमुनि बुद्धजन्मस्थल स्थित मायादेवी मन्दिरको परिसरमा बुद्धबन्दना, ध्यान, प्रवचन गरी सुरुवात गरिएको क्याम्पस प्रमुख निर बहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा शिक्षकहरु खेन्पो फुर्पा शेर्पा, गेस्से यसी दोर्जी लामा, खेन्पो कर्मा ठिन्ले तामाङ, श्रद्धेय भन्ते सिरि वजिर र करीब २० जना लामा आनीहरुको उपस्थितिमा सम्पन्न भएको विभागीय प्रमुख डा. ङिमा शेर्पाले बताइन् ।
सोही अवसरमा बोल्दै क्याम्पस प्रमुख गुरुङ्गले विश्वविद्यालयको केन्द्रीय क्याम्पसले पहिलो पटक नयाँ सेमेष्टर मायादेवि परिसरबाट सुरु गरेको जानकारी दिए ।
अबदेखि हरेक नयाँ कक्षा भगवान गौतम बुद्धको पवित्र जन्मस्थल मायादेवी मन्दिर परिसरबाट सुरु गरिने क्याम्पस प्रमुख नीर बहादुर गुरुङले बताए । विश्वविद्यालयको स्थापना वि.सं. २०६२ मा भएर शैक्षिक कार्यक्रमको सुरुवात वि.सं.२०६७ मा विद्यावारिधीबाट सुरु भएको थियो ।
केन्द्रीय क्याम्पसमा भने बौद्ध अध्ययनमा स्नातकोत्तर तहको कार्यक्रम वि.सं. २०७० बाट सुरु गरेको थियो । हाल केन्द्रीय क्याम्पसमा बौद्ध अध्ययन र पुरातत्व तथा बौद्ध पुरातात्विक क्षेत्र विषयमा स्नातकोत्तर तहका र स्नातक तहमा ट्राभल टुरिजम अनि ग्रामीण विकासमा गरी ५ वटा शैक्षिक कार्यक्रम सञ्चालनरत छन् । जसमा करीब २ सय जना विद्यार्थीहरु अध्ययन गर्दैछन् ।