© २०२३
रोल्पा, ४ बैशाख ।
रोल्पा गंगादेव गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्ण वलीलाई अवैध हतियार सम्वन्धी मुद्दा लागेको छ । वडाध्यक्ष वलीले घर कोठामा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा घर खानतलासी गर्दा उनको कोठावाट प्रहरीले एक थान म्याग्जीन सहितको पोस्तोल र तीनमा राउण्ड गोली वरामद गरेको थियो । उनले उक्त पोस्तेल घरको कोठामा रहेको माटोको डरी भित्र रातो वुट्टे रुमाल जस्तो कपडामा वेरि राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।
उक्त पेस्तोल तथा गोली समेत वरामद गरी ३३ वर्षीय वडाध्यक्ष वलीलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्वन्धी कसुरमा जिल्ला अदातल रोल्पावाट १४ दिनका लागि म्याद थप गरी अनुसन्धान प्रकृया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता भुसालले जानकारी दिए ।
आफ्नै गाउँपालिका अध्यक्ष चढेको गाडी माथि आक्रमण गरेको आरोपमा वडाध्यक्ष वली यस गत चैत्र ३० गते नै पक्राउ परेका थिए । गंगादेव गाउँपालिका अध्यक्ष हरिवहादुर पुन चढेको गाडी तोडफोड गरेको आरोपमा उनलाई जिल्ला प्रशासन कार्यालय रोल्पावाट १५ दिनको म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुरक्षा र नैतिकता विरुद्धको कसुर (अभद्र व्यवहार) सम्वन्धी मुद्धामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
चैत्र ३० गते वेलुका ४ वजे गंगादेव गाउँपालिका वडा नं. ५ को कार्यक्रममा त्यहाँ पुगेका गाउँपालिका अध्यक्ष पुनलाई लिन गएको रा १ झ १९१ नम्वरको गाउँपालिकाको स्कारपियो गाडीलाई रोकी वडा नं. ४ का वडाध्क्ष वलीले हातको मुक्काले हानेको प्रहरीको भनाई छ ।
हातको मुक्काले हानेको गाडीको अगाडीको शिसा चर्किएको, दाहिने तर्फको लुकिङ ग्लास भाँचिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षको गाडी तोडफोड गर्ने कार्यमा संलग्न वडाध्यक्ष वलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक श्यामकुमार सारुमगरले जानकारी दिए ।
गाडी तोडफोड गर्ने वडाध्यक्ष वलीले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष वली गाउँपालिकाको प्रवक्ता समेत हुन् । प्रदेशमा पठाउने समपुरक योजनामा गाउँपालिका अध्यक्ष पुनले एकलौटी गरेको भन्ने आरोपमा वडाध्यक्ष वलीले गाउपालिका अध्यक्षको गाडी तोडफोड गरेको स्थानीयको भनाई छ । गाउँपालिका अध्यक्ष पुन र वडाध्यक्ष वली दुवै गतवर्षको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसवाट विजयी भएका थिए ।