© २०२३
दाङ, १ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नयाँ वर्ष २०८० सालको शुभकामना दिएका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गिरीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०८० को अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट नै सामन्ती राजतन्त्रको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उनले उल्लेख गरेका छन् । “परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका छौं । संघीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ । संविधान कार्यान्वयन र संघीय शासनको आधार तयार पार्ने जस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको छ”–मुख्यमन्त्री गिरीले शुभकामनामा उल्लेख गरेका छन् ।
पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैं यतिबेला स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेको उनले बताएका छन् । जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जन आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्रीले बताएका छन् । “समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी” को लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिको बाटोबाट उक्त लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि संकल्पित रहेको उल्लेख गरेका छन् ।
मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्ने सरकारको योजनालाई सफल बनाउन नागरिकको सहयोग र हातेमालो निकै महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्रीले नयाँ वर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोटले सरकारको लक्ष्य सफल हुन्छ भन्ने विश्वास लिएको बताएका छन् ।