© २०२३
दाङ, २६ चैत ।
दाङको पुरानो तथा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापना समितिको सदस्य पदमा समावेशी प्यानल विजयी भएको छ । शनिवार सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै समावेशी प्यानल विजयी भएको हो ।
जस अनुसार निर्वाचित हुनेमा सुशिला वली, वुद्धिराम पुन मगर, पवित्रा चौधरी र घनश्याम चौधरी रहेका छ्न् । एमाले एक्लै चुनाव लड्दा अन्य १० दलको प्यानल प्रतिष्पर्धामा थियो । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, विप्लव माओवादी, एकीकृत समाजवादी, राजमो, जसपालगायत गठबन्धन रहेको थियो ।
निर्वाचन मण्डलका अनुसार सुशिला वलीले ३ सय ६८, बुद्धिराम पुन मगरले ३ सय ६०, पवित्रा चौधरीले ३ सय ५९ र घनश्याम चौधरीले ३ सय ६३ मत प्राप्त गरेका थिए । कुल ३ हजार ७ सय ८७ मतदाता रहेको विद्यालयमा ६ सय ६८ मत खसेको थियो ।
गठबन्धन प्यानलबाट प्रतिष्पर्धा गरेका धना जिसीले २ सय ८६, डिकम वि.एम. २ सय ८१ सुशिला खनालले २ सय ७७ र उमा देवी गिरी डाँगीले २ सय ७९ मत प्राप्त गर्दै पराजित भएका छ्न् । दाङको सबभन्दा पुरानो विद्यालय भएकाले सबैले निकै चासोका साथ लिइएको पद्मोदय विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा गठबन्धन पराजित भएसँगै नेकपा एमालेलाई पदाधिकारी मनोनयनमा सहज भएको छ ।