© २०२३
दाङ, २२ चैत ।
तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार यज्ञ वलीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको समाचार सञ्चारमाध्यममा समाचार आएपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले चासो देखाएर निर्देशन दिएपनि जिल्ला प्रहरी कार्यालय दाङले अटेर गरेको छ । आर्थिक चलखेल गरेर दाङका प्रहरी प्रमुख विरबहादुर वली र डिएसपी राजन गौतमले आइजिपी बसन्त कुँवरको निर्देशनलाई लत्याएर फरार अभियुक्त वलीको बचाउमा उत्रिएका छन् । अदालतले वलीलाई पक्राउ गरेर बुझाउन सक्ने प्रावधान रहेको बताइरहँदा वली र गौतमले आनाकानी गरेर बचाउमा लागेको आरोप लागेको छ ।
बैंकको १८ करोड हिनामिनामा मुछिएका अभियुक्त कांग्रेस नेतालाई एसपी र डिएसपीले संरक्षण गरेको समाचार यसअघि प्रकाशन भएको थियो । प्रहरी स्रोतका अनुसार एसपी र डिएसपी अवकाश हुने समय छोटो रहेकाले उनीहरु कमाउधन्दामा लागेका छन् । डिएसपी गौतम यसअघि जिप्रका दाङको मुद्दा फाटमा लामो समय बसेकाले उनको सेटिङमा एसपीले साथ दिदै अवैध काम भइरहेको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौंका केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले नै नव नियुक्त आईजीपी वसन्तबहादुर कुँवरले फरार अभियुक्तलाई प्रहरीबाट भइरहेको संरक्षणबारे चासो प्रकट गरेको र तत्काल प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर अदालतमा बुझाउन निर्देशन दिइसकेको बताए पनि आदेशको कार्यान्वयन गर्नुको साटो प्रहरी प्रमुख फरार अभियुक्तलाई खुलेयाम संरक्षण गर्न लागि परेका छन् । प्रहरी प्रधान कार्यालयमा आफुले मिलाइहाल्ने भन्दै आइजिपीकै आदेश लत्याएर कानुनी कारवाही हुनबाट बचाएपछि एसपी वलीको चर्को आलोचना भइरहेको छ ।
यसअघि पनि स्कुटर चोरी प्रकरणमा चोरलाई मुद्दा नचलाई छाडेको घटना बारेमा जानकार रहेको र प्रतिवेदन हेडक्वाटर आइसकेकाले त्यसमा संलग्नलाई पनि दाङ प्रहरीले बचाएको आरोप छ । कांग्रेस दाङका पूर्वजिल्ला सदस्यसमेत रहेका वलीलाई बैंक हिनामिना प्रकरणमा म्याद तामेल गर्दा पनि म्याद गुजारेर बसेको अदालतले ठहर गरेको थियो ।
दाङ कांग्रेसको उपसभापतिमा प्रतिष्पर्धा गरेका उनलाई प्रमुख एसपी वीरबहादुर वलीले संरक्षण गर्दै आएको आरोप लागेको छ । एसपीको पावर देखाउँदै उनी मुद्दा मिलाउन जिप्रका दाङसहित जिल्ला सरकारी वकिल कार्यालय धाउने गरेका छन् ।
उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले मुद्दा परेका वली हाजिर नभएकाले मुल्तबीमा राखिएको र प्रहरीले वलीलाई पक्राउ गरेर अदालतमा ल्याए प्रक्रिया अनुसार अघि बढ्ने बताइ सकेका छन् । उनले बैँक हिनामिनामा सलग्न फरार अभियुक्त अहिलेसम्म अदालतमा हाजिर नभएको पनि बताए ।
यता, डीएसपी गौतमले भने अदालतले पत्र पठायो भने मात्रै पक्राउ गर्न सकिने नभए नसकिने प्रतिक्रिया दिए । “अदालतको पत्र आएको छैन, पत्र पठाए मात्र पक्राउको प्रक्रिया अघि बढ्छ”–उनले भने ।