© २०२३
दाङ, २१ चैत ।
बालविवाह गरेको अभियोगमा दाङको बंगलाचुलीबाट किशोरकिशोरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बंगलाचुुली गाउँपालिका वडा नम्बर ४ गहतेराकी १५ वर्षीया किशोरी र वडा नम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोरले विवाह गरेको गुनासोसहितको सूचना आएपछि घटना दर्ता गरी बालविवाहको मुद्दा चलाइएको प्रहरी नायक उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
गौतमका अनुसार चैत १९ गते केटाकेहीको परिवारको परिवारले विवाह गराएको भन्ने प्रारम्भिक जानकारीसहितको सूचना आएपछि कमिरेचौरबाट खटिएको प्रहरीको टोलीले आज दुलाहा दुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिईएको छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष डासबहादुर डाँगीले बालविवाह भएको पुष्टि गरेका छन् । उनले केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गरेको भन्ने प्रारम्भिक जानकारी पाएको बताउँदै घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिए ।
दाङमा बालविवाह रोक्न विभिन्न प्रयास भएपनि रोक्न चुनौती देखिएको छ । स्थानीय सरकार, विभिन्न संघ संस्था र प्रहरीले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम र अभियान चलाउँदै आएपनि समुदाय स्तरमा यसको प्रभाव पर्न नसक्दा उमेर नपुग्दै विवाह गर्ने क्रम रोक्न चुनौति देखिएको हो । समुदायमा अझै पनि धेरै जसो बालविवाहका घटना गुपचुप राख्ने गरिएकाले पनि बाहिर नआएको हुनसक्ने प्रहरीको भनाई छ । प्रहरीले थाहा पाएका घटनाको छानबिन गर्ने गरेको प्रहरीले जानकारी गराएको छ ।