© २०२३
विरवललाई कतिपय मानिसले नेपालको मान्छे भन्दारहेछन् । कसैले स्यांजाको कुनै गाउँका मानिस हुन् भन्दारहेछन् । कसैले बागलुंगका भन्दारहेछन् । कसैले दांगका हुन् भन्छन् । कसैले खोटांगका हुन् पनि भन्छन् । मुल्लाको आँगनमा जम्मा भएका मानिसको आजको चिया गफ यसैमा केन्द्रित थियो । मुल्ला भने बोलिरहेको थिएन । उसले नाति केटालाई एउटा चक्कु ल्याउन पठायो र त्यसलाई आफ्नो अगाडि गाड्दै भन्योः विरवल यहि ठाउँका हुन् । मुल्लाको त्यस्तो हरकत देखेपछि जम्मा भएकाले सोधेः त्यसको प्रमाण के छ ? मुल्लाले भन्योः तिमीले दाबी गरेको ठाउँका हुन् विरवल भन्ने कुरामा के प्रमाण छ त ? अरूले भनेको कुराका भरमा तिमीहरूले भनेका त हौ नि । अहिले मैले ठाउँको किटानीसहित भनिरहेको छु । अब सबैले यहि ठाउँमा जन्मेका हुन् भनेर भन्दै हिँड । अनि कसले भन्दैन विरवल मुल्लाको घरनिरै जन्मेका रहेछन् भनेर ?
मुल्लाको कुरामा कतैबाट विवाद उठिरहेको थिएन । तर, एकजना बृद्धले चियाको गिलास भुइँमा राख्दै भनेः वास्तवमा विरवल आठराईमा जन्मेका हुन् । उनका सन्तानमध्येका झापा झरेका एकजना केपी ओली हुन् । विरवलले अकबरलाई दिने जवाफ र विरोधीहरूलाई प्रश्नकर्तालाई ओलीले दिने जवाफ कसरी ठ्याक्क मिल्छन् ? बृद्धले यस्तो कुरा सुनाएपछि कसैले पनि विवाद गरेन । न त प्रमाण नै खोजे ?