© २०२३
मुल्लालाई किन हो कुन्नी आज निकै गीत फुरेको छ । विहानै देखि धोँद्रो श्वरमा फिल्मी गीतहरू गाउँदै गरेको छ । श्वर मीठो भएर गीत गाउँथ्यो भने त बेसै लाग्थ्यो । उसको श्वर कस्तो छ भने मानौँ कि कसैले सुकेको टपरीमाथि पिसाब फेरिरहेको हो । अथवा पुरानो प्लाष्टिकको बाल्टीको बिटमा कसैले पानीको धारा थापिरहेको हो । श्वर मिठो छैन भन्ने कुरा मुल्लालाई थाहा नभएको हैन । तर, उसलाई गीत गाएर कसैलाई चिडाउन मन लागेको छ । त्यसैले धोँद्रो श्वर ठूलो पारेर लस्को हालेर गाइरहेको छ । मुल्लाले यसरी गाना गाएको यो माष्टरलाई पटक्कै मन परेन र मुख खोल्योः लौ मुल्लाको घरतिर त धोबी आउँदै छ । मुल्लाले बारीको डिलतिर हेर्दै भन्योः खोई कहाँ आउँदै छ धोबी ? माष्टरले भन्योः धोबीको गधा हराएछ । खोज्दै आएको होला नि ? मुल्लाले भन्योः घाटको धोबीको गधा मेरो घरतिर किन आउनु ? माष्टरले भन्योः उसको गधा तिमीले गाना गाएजस्तो कराउँथ्यो रे क्या । अनि तिम्रो गीत सुनेपछि मेरो गधा त यहाँ पो आएको रहेछ भनेर खोज्न आउँदैन त ?
बल्ल मुल्लाको घैँटोमा घाम लागेछ र गीत गाउन छाड्यो । त्यति नभनेको भए कानै पट्टाइदिन्थ्यो । जसरी हाम्रा नेताहरूले समृद्धि, समृद्धि, समृद्धि भन्दै गीत गाउँदै आएका छन् ।