© २०२३
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रवार सातौपटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सातौंपटकको पुनर्गठनमा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रति आम जनताको विश्वास ढुलमुल हुने अवस्था आएको छ । सरकार आफै पूर्ण छैन, सरकारले दिने ‘डेलीभरी’ कसरी प्रभावकारी होला ? प्रश्न उठनु स्वाभाविक छ । अझै कति समयपछि सरकारले पूर्णता पाउला ? प्रधानमन्त्रीसंग पनि यसको जवाफ छैन । त्यसकारण नागरिकले जुन आशा र अपेक्षा सरकारमाथि गरेका थिए, त्यो अपेक्षा विस्तारै कमजोर हुने अवस्था नआउला भन्न सकिन्न । प्रचण्ड सरकारले पनि ‘जुन जोगी आएपनि कानै चिरेको’ उखान चरितार्थ गर्दै जुन सरकार आएपनि उस्तै भन्ने भनाईलाई पुष्टी गर्ने हो कि भन्ने चिन्ता छ । निश्चितरुपमा गठबन्धन सरकार चलाउनु त्यति सहज छैन तर प्रधानमन्त्रीको रवैयाले गठबन्धन सरकारले गति लिन सक्दैन कि भन्ने आम नागरिकको चासो छ । हाम्रो समाज सानो सफलतामा पनि रमाउने चरित्रको छ । तर जनताको त्यो विश्वासमाथि भरोसा दिलाउने आधार तयार नहुँदा नागरिकको चरित्र नै आलोचनामयी भएको हो । यो हरेकले बुझ्ने बिषय हो । राज्य वा हरेक व्यक्तिको आलोचना वा प्रसंशाको आधार उसको काम हो, योगदान हो । तर, जनताले विकासको अनुभव गर्न पाएका छैनन् । सुरु भएका विकास निर्माणका कामपनि निर्माण कम्पनीहरुको बेवास्ता र लापरवाहीका कारण सुस्त छन । मुलुकका लागि आशा र भरोसा बनेका ठूला आयोजनाको निर्माण प्रगति शून्यकै अवस्थामा छ । विकासको मूल फुटाउने कुरा त पञ्चायतकालमा पनि हुने गरेको थियो । अहिले पनि विकासका ठूलाठूला कुरा हुने गरेका छन् ।
अहिले देशलाई अमूक दल वा व्यक्तिभन्दा पनि विकासको गतिमा अगाडि बढाउन सक्ने सक्षम नेतृत्वको आवश्यकता छ । जनताले अव प्रश्न गर्न थालेका छन– मुलुकमा विधिको शासन, आर्थिक समृद्धि एवं सामाजिक न्यायको अवस्था किन फेरिन सकेन ? राज्यको कार्यशैलीप्रति समाजले नाक खुम्च्याउनुपर्ने अवस्था किन सिर्जना भयो ? भ्रष्टाचारले देश कंगाल बन्दै जाने, युवाले स्वदेशमा आयआर्जनको अवसर नपाउनेजस्ता यावत् समस्याको जवाफ खोज्दा भिजन र एक्सन भएको सक्षम नेतृत्वको अभावकै कारण नेपालको अवस्था कमजोर बन्दै गएको हो भन्दा अत्युक्ति हुँदैन । नागरिकमा सुशासनको अनुभूति हुन सकेको छैन । युवाले आफ्नो भाग्य र भविष्य खोज्न बिदेसिनु परेको छ । महँगीले आकास छोएको छ । जनतालाई करको भारी बोकाइएको छ । लोकतन्त्रका मूल्य र मान्यता खल्बलिएका छन् । तर, राज्यले जताततै प्रगति भएको देखेको छ । असाधारण उपलब्धि भएको महसुस गरेको छ । प्रधानमन्त्री प्रचण्डले देश अगाडी बढ्यो मात्रै भन्छन तर देश पछाडि जाने चिन्ता बढेको छ । सात सातपटक पुनर्गठन हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । यो भन्दा बिडम्वना मुलुकका लागि अरु के हुन्छ ? आज जनताका लागि सवैतिर निरासामात्रै छ । मानौं निरासाको तुषारापात भैरहेको छ ।