© २०२३
बुटवल, ४ चैत ।
श्री नेवा पुच सेवा समितिको १४ औ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बीच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उदघाटन गर्दै सबै जातजातिहरु आफनो संस्कृति संरक्षणमा लाग्नुपर्ने बताए । कार्यक्रममा नेवार दे दबु केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं ९ का प्रदिप श्रेष्ठले ब्यापारिक र आर्थिक रुपमा समाज रुपान्तरणमा नेवार समुदायले योगदान दिएको बताए ।
कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै छरिएर रहेका नेवार जातिहरुलाई एकतावद्घ गराउँदै संस्थागत रुपमा संस्कार, संस्कृति संरक्षणको अभियान निरन्तर चलाइदै आएको बताए । संस्थागत विकास गर्दै अघि बढ्दा वर्तमान अवस्थामा १ करोड ५० लाख बराबरको सम्पत्तिबाट सामाजिक कार्यमा उपयोगी भवन निर्माण भएको छ । यसैगरी नियमित रक्तदान, पाठेघरको मुखको क्यान्सर परीक्षण, मृगौला तथा मुटु पीडित संस्थालाई सहयोग, मृगौला दिवसमा सचेतना कार्यक्रम, निःशुल्क स्वस्थ्य शिविर, रुपन्देहीमा खल, पुच र गुठीलाई समेटेर समूहगत कार्यमा जोड दिदै आएको उनले बताए ।
कार्यक्रममा समितिका सल्लाहकार नवराज श्रेष्ठले बुटवल क्षेत्रमा बसाईसराई गरेर आएका नेवारहरु जो आफ्नो संस्कार÷संस्कृति मनाउन नपाएको अवस्थामा रहेका थिए । उनीहरुलाई एकतावद्घ गराउँदै संस्थागत रुपमा मनाउने र समन्वय गर्ने काम सफलतापुर्वक सम्पन्न भएको उनले बताए । १४ वर्षको अवधिमा भवन निर्माण, धिमे बाजा सिकाउने, विभिन्न सामाजिक गतिविधिमा अग्रसरता देखिएको उनले बताए । मनोभावना पोख्ने चौतारीका रुपमा संस्था रहेको उनले बताए ।
कार्यक्रममा समितिका सचिव शारदा श्रेष्ठ, कोषाध्यक्ष दल बहादुर श्रेष्ठ, महिला समितिका अध्यक्ष तारा श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले अक्षय तृतिय, गाईजात्रा, नेवारी खाजा महोत्सव, कैता पुजा, युवाहरुलाई धिमे बाजा सिकाउने, नेवारी भाषा कक्षा चलाएर संस्कृति जगेर्नाको काममा संस्थाको अभियान महत्वपूर्ण रहेको बताए । नेवा भनेको सुर्य हो । सुर्योदय भएको ठाउँमा बसोबास गर्ने जाति नेवार भएको उनले बताए ।
कार्यक्रममा संचार क्षेत्रबाट योगदान दिएका पत्रकार दिनेश श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको छ । यसैगरी जेष्ठ नागरिक सम्मानबाट समितिका ओमप्रकाश श्रेष्ठ, जन्मप्रसाद श्रेष्ठ, दुर्गालक्ष्मी जोशी, पुरुषोत्तम राम श्रेष्ठ, चन्द्र कुमारी श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, कृष्णकला श्रेष्ठ, सितादेवि गंगालक्ष्मी सुवाल, चमेली देवि श्रेष्ठलाई सम्मानपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरी प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने, रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई सम्मान गरिएको थियो । समितिमा २ सय ३२ जना साधारण तथा आजिवन सदस्यहरु छन् ।