© २०२३
चन्द्रौटा(कपिलवस्तु), ४ चैत ।
त्रिशुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा रुख कटान सुरु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर २ को वनमा शुक्रबारबाट अभ्यासको सुरुवात गरेको वनले जनाएको छ ।
कार्ययोजना अनुसार कटान गर्न तोकिएको रुखको कटान गर्न र पारदर्शिताको लागि जनप्रतिनिधि, सञ्चारकर्मी, वन कार्यालयका कर्मचारी र स्थानीयको उपस्थितिमा कटान सुरु गरिएको सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले जानकारी दिए । रुख कटान कार्यमा समुदायको प्रत्यक्ष संलग्नता गराउँदा अनावश्यक रुख कटान नहुने बुद्धभुमि नगरपालिका २ का वडाध्यक्ष सुरज प्रताप राणाले बताए ।
त्रिशुली सामुदायिक वनले रुख कटान गर्दा समुदाय र जनप्रतिनिधिको निगरानीमा गराउँदै जिल्लामा नयाँ अभ्यास सुरु भएको गोरुसिङ्गे सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत वसन्त थापाले जिकिर गरे ।
अधिकृत थापाका अनुसार कटान गर्नुपर्ने रुखमा ट्याग लगाइएको र माउ रुखलाई सेतो घेरा लगाइ सङ्केत गरिएको छ । हरेक रुखको जिपिएस लिएको हुँदा अनावश्यक कटान भए थाहा हुने छ । यसअघि रुख कटान गर्दा उपभोक्ता समिति र वन कार्यालयका कर्मचारी मात्र समावेश हुँदा कपिलवस्तुका वनमा तोकिएको भन्दा बढी कटान भएको आवाज समेत उठ्ने गरेको थियो ।