© २०२३
दाङ, ३ चैत ।
२०४६ सालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरुले चैत ३ गतेको संझना गरेका छन् । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले प्रजातन्त्र पुनःस्थापनाका लागि खेलेको भूमिकाको सम्झना गरेको हो । २०४६ साल चैत ३ गतेका दिन साहित्यकारहरुले व्यवस्थाको विरोधमा सडकमा आएर राजनीतिक आन्दोलनलाई अघि बढाउनका लागि योगदान गरेको सम्झनामा हरेक बर्ष चैतको ३ गते लेखक दिवस मनाउने गरिन्छ ।
प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले साहित्यकारहरुले सत्ता फेरवदलको विरुद्ध साहित्यकारले जहिले पनि खवरदारी गरिरहनुपर्ने बताए । उनले राणाशासनको विरुद्धमा लेखनीका माध्यमबाट खवरदारी गरेका साहित्यकारहरु पंचायती व्यवस्थाको विरुद्ध सडकमा आएर संघर्ष गरेको बताए ।
२०४६ साल चैत ३ गतेका दिन युद्धप्रसाद मिश्र, पारीजात, सत्यमोहन जोशी, शक्ति लम्साल, आनन्ददेव भट्ट लगायत करिव दुई सय साहित्यकारहरु एकसाथ विरोधमा आएको स्मरण गर्दै शर्माले पंचायती व्यवस्था विरोधी आन्दोलनमा बामपन्थी र प्रजातान्त्रिक आस्थाका लेखकहरु एक साथ सडकमा आएको स्मरण गरेका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासीले चैत ३ गतेको दिन साहित्यकारहरुका लागि मात्रै नभएर नेपालको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक दिन भएको चर्चा गरेका थिए । उनले राजनीतिक दलहरुले गरेको आन्दोलनमा उभार नआइरहेको अवस्थामा साहित्यकारहरु सडकमा आएपछि आन्दोलनको स्वरुप नै परिवर्तन भएको बताए । लेखक कलाकारहरु सडकमा आएपछि राज्य संचालकहरु डराएको भन्दै उनले पंचायती व्यवस्थाको विरुद्धमा लेखक साहित्यकारहरुले गरेको संघर्ष र योगदानलाई भूल्न नहुने चर्चा गरे ।
उनले बामपन्थी र प्रजातान्त्रिक शक्तिहरु मिलेर पंचायती व्यवस्थाको विरोधमा लागेको भएपनि त्यो आन्दोलनमा जनसहभागिता नवढिरहेको अवस्थामा साहित्यकारको सहभागिताले आन्दोलनमा उर्जा थपेको बताए । लेखक, साहित्यकारहरुसंग शासकहरु डराउने गरेको उनको धारणा थियो ।
कार्यक्रममा प्रलेस दाङका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले नेपालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरुलाई राजनीतिक नेतृत्वले भूल्ने गरेको बताए । उनले साहित्यकारहरुले दवाव र जागरणको अभियानलाई सधै अघि बढाइरहनुपर्ने बताए ।
राप्ती साहित्य परिषदका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले साहित्यकारको हतियार कलम भएकाले कलमका माध्यमबाट खबरदारी गर्ने गरेको बताए ।
प्रलेसले पारिजात र कृष्ण सेनलाई सम्झने
प्रलेस दाङ शाखाले आगामी बैशाखमा प्रगतिवादी साहित्यकार पारिजातको सम्झनामा तुलसीपुरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रमका लागि सचिव डिल्ली बस्नेत संगीतलाई संयोजनको जिम्मेवारी दिइएको छ । यस्तै साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी जेठमा कार्यक्रम गर्ने र सो कार्यक्रमको संयोजकमा उपाध्यक्ष रेशम विसीलाई चयन गरिएको छ । प्रगतिशील लेखक संघ नेपाल दाङका अध्यक्ष भुवन देवकोटा (शरद)को अध्यक्षतामा कार्यक्रम भएको हो।