© २०२३
रोल्पा, फागुन ।- रोल्पाको सुनछहरी गाउँपालिका वडा नं २ भित्रिगाममा विद्युतको पोल गाडेको ५ वर्षसम्म पनि विजुली बलेको छैन । अन्धकार गाउँमा पोल गाड्न थालेपछि विजुली आउने भयो भन्दै हौसिएका स्थानीयहरु ५ वर्षसम्म विजुली नबल्दा निराश भएका छन् ।
“सुनछहरी गाउँपालिका वडा नं. २ का करिव ४ सय घरधुरीमा विद्युत विस्तार गर्ने योजना अनुसार ५ वर्ष अघिदेखि काम थालनी भएपनि अहिलेसम्म विजुली वाल्न पाएका छैनौ”–स्थानीय अमन वुढामगरले भनmे “पोल गाडेर तार झुण्ड्याएको छ भने ।” “सुरु सुरुमा त विद्युत आउने आशा लाग्थ्यो अव त आशा पनि मर्न लागि सक्यो”–वुढामगरले भने ।
झिम्रुक जलविद्युत आयोजना अन्तर्गत केन्द्रीय प्रशारणबाट उक्त लाईन विस्तार गर्न लागिएको हो । विद्युत विस्तारको जिम्मा लिएको मुख्य निर्माण व्यसायीले साना साना निर्माण व्यवसायीलाई काम दिदा योजना निर्माणमा ढिलाई भएको स्थानीयको भनाई छ । “पेटीमा काम दिंदा समयमै विद्युत विस्तार हुन सकेको छैन”–स्थानीय मनपती विकले भने । जनआवाज प्राथमिक विद्यालय झेल्कुङको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विकका अनुसार विद्युत नहँुदा विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । “हुने खानेहरुको घरमा त सोलार छ त्यसैको उज्यालोले काम चल्छ, गरिव विपन्नको घर त सधै अन्धकार हुन्छ”– विकले भने । सोलारले पनि कहिले काम गर्ने कहिले नगर्ने समस्या भईरहने उनले बताए ।
भित्रि गाम रोल्पाको सवभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोष टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिकाको केन्द्र पोवाङवाट समेत एक दिनको पैदल यात्रा गर्नु पर्छ । जिल्लाका अधिकांश वडा कार्यालयसम्म सडक संजाल जोडिए पनि सो वडामा अझै सम्म सडक संजाल जोडिएको छैन । विद्युत, सडक मात्रै हैन उक्त वडा शिक्षा स्वास्थ्य जस्ता आधारभूत र अत्यावश्यक सेवावाट समेत टाढा रहेको छ ।
माध्यमिक तहको विद्यालय नहँुदा यहाँका विद्यार्थीहरु ५ घण्टा बढीको पैदल यात्रा गरी अर्को वडामा रहेको विद्यालयमा अध्ययन गर्न जाने गर्दछन् । मगर र दलित बाहुल्य सो वडा स्वास्थ्य सुविधाबाट समेत बञ्चित छ । वडामा २ वटा सामुदायिक स्वास्थ्य ईकाई रहे पनि स्वास्थ्य चौकीको सेवा लिन ५ घण्टाको पैदल यात्रा गरेर वाहिरी गाम जानु पर्छ ।