© २०२३
दाङ, २४ फागुन ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ६ को शुभलक्ष्मी टोलका मनोज चौधरी बारीबाट छिनेर ल्याएको तोरी गोरुले दाउँदै थिए । यो वर्ष असोजको दोस्रो हप्ता पानी परेकाले तोरी छर्न केही ढिला भएको उनले बताए । असोज महिनामा छरेको तोरी राम्रो फल्थ्यो यर वर्ष तोरी छर्न कात्तिक भेट्यो । ‘बोट त राम्रै थियो फल पनि राम्रो लागेको छ,’ उनले भने, ‘रोग किराले नोक्सान गरेन, फल भने राम्रै भएको छ ।’
घोराही–५ धर्नाका खिमबहादुर वली पनि घरको आँगनमा गोरु नारेर तोरी दाउने काममा व्यस्त थिए । असोज महिनामा छरेको तोरी यतिबेला स्याहार्ने बेला भएको छ । ‘यो पटक तोरी भने अनुसार फलेको छ, त्यसैले धेरै खुशी छु’, उनले भने । धर्नाका सबै किसानले तोरी उत्पादन राम्रो गरेका छन् । सिँचाइको सुविधा भएको भए झन् धेरै उत्पादन हुने थियो ।
घोराही–४ लक्ष्मीपुरकी तारा आचार्यले तोरी विगत वर्ष जस्तो धेरै नफलेको बताइन् । ‘जति फलेको छ, ठिकै छ भन्नुप-यो । नभएको भन्न मिल्दैन, राम्रै छ तर समयमा मल सिँचाइ दिन पाएको भए अझै फल्थ्यो की भन्ने लागेको हो’, उनले भनिन्, ‘जति फलेको छ, सन्तोष गर्नै पर्यो ।’ दाङका धेरै जसो ठाउँमा पहिले भन्दा यो पटक तोरी राम्रो फलेको छ । तोरी फलेपछि किसान किनै हर्षित छन् ।
जिल्लाको देउखुरी क्षेत्रका किसानले यो पटक तोरी निकै फलेको बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ७ की हिराकुमारी चौधरीले खेतमा छरेको तोरी निकै राम्रो भएको बताइन् । ‘बोट पनि निकै सप्रेको थियो । दाना पनि राम्रा छन् । तोरी राम्रो भएको छ’, उनले भनिन् ‘यो पटक राम्रो उत्पादन भएको छ ।’ गत वर्ष चार क्वीन्टल तोरी बिक्री गरेको उनले बताइन् । यसपाली पनि दुइ÷तीन क्वीन्टल बिक्री गर्ने आशा रहेको उनले बताइन् ।
दाङ तोरीका लागि प्रख्यात जिल्ला हो । यहाँको तोरीको आफ्नै विशेषता छ । जिल्लामा तोरीका साथै तलहन बाली अन्तर्गत सस्र्यु तोरी, रायो तोरी, सूर्यमुखी, तिल, बदाम, आलस बाली उत्पादन हुने गरेको छ ।
दाङमा किसानले अझै सबै ठाउँमा तोरी बाली स्याहारीसकेका छैनन् । अहिले धेरैजसो ठाउँमा तोरी फूलेर खेतबारी पहेंलपुर भएका छन् । कतै स्याहार्ने काम भईरहेको छ । तर, कृषि ज्ञान केन्द्र दाङले भने जिल्लामा तोरी उत्पादनको तथ्यांक तयार पारिसकेको छ । जिल्लामा तोरीको उत्पादन यकिन गर्न सबै ठाउँको फसल भित्र्याएपछि हुनुपर्नेमा किसानले तोरी भित्र्याउन नपाउँदै जिल्लामा तोरीको उत्पादनको अवस्था आईसकेको छ ।
जिल्लामा गत वर्ष १८ हजार ३ सय हेक्टरमा रोपेको तोरीको उत्पादन २३ हजार ७ सय ९० मेट्रिक थियो तर यो वर्ष १८ हजार १ सय १० हेक्टरमा रोपेको तोरीको उत्पादन घटेर २१ हजार ७ सय ३२ मेट्रिक टन मात्रै भएको छ । यो तथ्यांक तोरी सबै स्याहारी नसकेको अवस्थामा तयार पारिएको छ । जसका कारण उपादन अनुपात बढ्न सक्ने अनुमान गरिएको छ । यद्यपि, छर्न ढिला र पानी नपर्दा उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङको भनाई छ । तोरी सबै ठाउँमा स्याहारी नसक्दा जिल्लामा तोरीको उत्पादन घटेको तथ्यांक आउनुले कृषि ज्ञान केन्द्रको तथ्यांक यकिन नै हो भन्न सक्ने अवस्था छैन । कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेको तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको तर मौसमले भने साथ नदिंदा तोरीलगायतका तेलहन बालीको उत्पादन घटेको दावी गरिएको छ ।
दाङका सबै पालिकामा तोरीको उत्पादन हुने गरेको छ । तोरीको पकेट क्षेत्रसमेत निर्धारण गरेर पछिल्ला केही वर्षयता सरकारले कार्यक्रम पनि संचालन गरिरहेकाले यसले प्राथमिकता पनि पाउने गरेको छ । यद्यपि, यो वर्ष तोरी छर्ने स्थानमा कृषकले अरु अन्नबाली लगाएकाले तोरी कम मात्रामा छरिएको तथ्यांक देखाएको छ । सो स्थानमा अरु कुन बाली लगाए भन्ने यकिन भने गरिएको छैन ।
‘पहिलेको वर्षभन्दा यो वर्ष जिल्लाका स्थानीय इकाईबाट लिएको तथ्यांक अनुसार तोरी कम क्षेत्रफलमा छरेको जानकारी पाएका थियौं, त्यसैगरी तोरी छर्ने बेलमा पानी प-यो, त्यसले पनि ढिला गरेको बुझेका छौँ’ कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानेले भने, ‘हिउँदमा पानी परेन, रोपिएको क्षेत्रफल पनि घटेकाले उत्पादन पनि घटेको अनुमान गरेका हौँ, समग्र जिल्लाभरको तोरी उत्पादनको अवस्था यो भन्दा केही फरक पनि हुन सक्छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पश्चिम दाङका बबई, दंगीशरण र शान्तिनगर गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाका वडा नं। १ र २ लाई समेटेर ‘तोरी जोन’ का रूपमा विकास गरिएको हो । परियोजनाअन्तर्गत उक्त क्षेत्रको करिब १ हजार २ सय हेक्टर जमिनलाई समेटेर तोरी जोन बनाईएको छ ।
तोरी जोन लागू भएपछि तोरी उत्पादनसँगै प्रशोधनको कामसमेत गर्नेगरी परियोजना संचालनमा छ । जोनअन्तर्गत कृषि व्यवसाय प्रवद्र्धनका लागि कृषि बजार केन्द्र स्थापना, स्रोत केन्द्र सहयोगका लागि मूल बीउ, नर्सरी, प्रविधि तथा प्राविधिकतर्फ प्राविधिक सहायक, कृषि स्तानक विषय विशेषज्ञ, माटो, बीउ, बाली संरक्षण तथा खाद्य प्रविधि मोबाइल प्रयोगशाला सेवा किसानहरूलाई उपलब्ध गराउने काम हुँदै आएको छ । १० वर्षका लागि सञ्चालित परियोजनाका लागि १ अर्ब ३० खर्ब बजेट विनियोजन गरिएको छ ।