© २०२३
निरु गुरुङ (मनु)
बुटवल, २३ फागुन ।
गुरुङहरुको पर्व मेत्हले प्रीव ,(धनुष बाण) पर्व बुटवलको रामनगर गुम्वामा सम्पन्न भएको छ । तमु ह्युलां छोंज धीं, गुरुङ राष्ट्यि परिषदको आयोजनामा गुरुङहरुको पर्व मध्ये एक मेत्हले पर्व पनि हो जसमा जिल्लादेखि इकाइसम्मका प्रतिनिधि तथा गुरुङ समुदायको सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो पर्व हरेक वर्ष फागु पुर्णिमाको तिथीमा मनाइन्छ । यसरी हरेक वर्षको मेत्हले प्रीव फागु पु्र्णिका दिन धनुष बाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने, कुस्ती खेल्ने, बास्केटवल, भलिबल, फुटबल आदिको आयोजना गरिनुका साथै खुकुरी हातहतियारको विधिवत पुजा गरी खेलहरुको शुरु गरिन्छ । आजको यस कार्यक्रममा पुरोहित मोम बहादुर गुरुङबाट पुजा आरधना गरी कार्यक्रम शुरु गरिएको थियो ।
आजको कार्यक्रममा धनुष बाण ,घैटो फोड र कुर्सी दौडको प्रतिष्पर्धा भएको थियो जसमा धनुष बाणमा तमु ह्युला छोंज धीं दिपनगर-७ इकाइका अध्यक्ष रस बहादुर गुरुङ प्रथम तथा मिन बहादुर गुरुङ दोस्रो भएका थिए । यसैगरी हन्डीफोरमा गुरुङ राष्ट्रिय परिषद दिपनगर-७ इकाइका माङीं अध्यक्ष हेमा प्रथम भएकी थिइन् । यसैगरी कुर्सीदौडमा माया गुरुङ प्रथम तथा मिना गुरुङ द्वितीय भएका थिए ।
यसैगरी कार्यक्रममा बोल्दै गुरुङ राष्टिय परिषद जिल्ला अध्यक्ष विमला गुरुङले देश तथा विदेशमा छरिएर रहेका समस्त नेपालीलाई शुभकामना ब्यक्त गर्दै लोप हँुदै गइरहेको गुरुङहरुको संस्कृतीलाई सरंक्षण गर्न लाग्नु पर्ने बताइन् । बिजेता तथा उप बिजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मातृभाषा अभियान्ता भिम गुरुङले शुभकामना दिदै सम्पूर्ण गुरुङहरु एक भइ आफ्नो भाषा र सस्कारलाई सरंक्षण गर्नुपर्ने बताए । कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद माङीं जिल्ला अध्यक्ष जुनमाया गुरुङ, गुरुङ राष्ट्रिय परिषद जिल्लाका वरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद जिल्ला सचिव ओम बहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।