© २०२३
परासी, २२ फागुन ।
जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । साविक जिल्ला विकास समितिबाट जिल्ला समन्वय समितिमा रुपान्तरण भएको जिससको ६० वर्षपछि कार्यालय भवन निर्माण हुन लागेको हो । भवन निर्माणको सोमबार एक कार्यक्रमका बीच जिससका प्रमुख भगौती यादव (रुदल) ले शिलान्यास गरे । जिल्ला प्रशासन कार्यालयको भवनबाट सेवा प्रवाह गर्दै आएको जिल्ला समन्वय समिति प्रशासनको नयाँ भवन निर्माण हुने भएपछि हाल भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।
तत्कालीन जिल्ला विकास समितिले खरिद गरेको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–४ मा रहेको २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको जिल्ला समन्वय अधिकारी मानबहादुर खड्काले बताए । दुई तले भवन निर्माण गर्न कुल ७ करोड ९० लाखमा आकृति पशुपति एभरेष्ट जेभि बुटवलले ठेक्का पाएको छ ।
आन्तरिक राजस्व बाँडफाँडबाट प्राप्त भएको रकम बचत गरेर भवन निर्माणका लागि प्रयोग गरिएको जिससले जनाएको छ । अपुग रकम स्थानीय तहहरुसंगको समन्वयमा पुर्ती गर्ने गरी काम अगाडि बढाईएको जिसस प्रमुख यादवले बताए । नवलपरासी दुई जिल्लामा विभाजन हुनु पूर्व तत्कालीन जिविस कोषमा साढे ७ करोड रुपैयाँ रहेको थियो ।
भवन शिलन्यास कार्यक्रममा पुर्व रक्षाराज्यमन्त्री रामवच्चन यादव, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, जिल्ला समन्वय समिति उपप्रमुख रामदयाल तेलि, रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष धरेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायतले बोल्दै समयमै भवन निर्माण हुनुपर्नेमा जोड दिए ।