© २०२३
भैरहवा, २२ फागुन ।
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक महिलाको पहुचको बिस्तार“ भन्ने मुल नारा सहित ओमसतिया गाउँपालिकामा सोमबार ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाका कानुनी अधिकार सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकार कार्यान्वयन गराउन आफ्नै घरदेखि व्यवहार परिवर्तनमा जोड दिएका छन् । संविधानले महिला अधिकारहरु कानुनमै सुनिश्चित गरिदिए पनि महिला अधिकारको कुराहरु अझै कार्यान्वयनमा आउन नसकेको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले हिजोको तुलनामा आजको अवस्थामा धेरै कुराको परिवर्तन आएको बताए । उनले कानुनहरु कार्यान्वयन गर्ने चरणमा रहे पनि अहिले पनि धेरै काम गर्न बाँकी रहेको उनले बताए । अहिले पनि महिलाहरू बोक्सी, बलात्कार, छाउपडी लगायतको समस्यामा रहेको बताउँदै यसको निराकरणमा महिला पुरुष उत्तिकै जिम्मेवार हुनुपर्ने जिकिर गरे । पराम्पराका नाममा महिलामाथि अझै पनि धेरै हिंसा भैरहेको र परिवर्तन तुरुन्तै नहुने भएकोले आवश्यकता अनुसार यसलाइ सुधार गर्दै लैजानु पर्ने उनले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकामा महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिवद्धता गरे । उनले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे । महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा महिलालाई बुझाउन नसकिएको बताइन् । उनले सोचमा परिवर्तन नआएसम्म समतामूलक समाज बन्न नसक्ने बताइन् । उनले घरबाहिर ननिस्केका महिलालाई बाहिर ल्याउन सक्नु पनि परिवर्तन भएको बताइन् । गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोख्रेल, पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोख्रेल, करुवानी माविकी प्रधानाध्यापक रमा अर्याल, आगमन सहकारीकी सीता सुनार, पौरखी सहकारीकी पुनम चौधरी, बालबालिका शाखाकी निर्मला पाण्डेले लगायतले मन्तव्य राखेका थिए ।