© २०२३
बुटवल, २० फागुन ।
निजी क्षेत्रबाट लगानी गरी शैक्षिक विकासमा अग्रसर भएको ड्रिम भिजन स्कुल अफ फर्साटिकरले आफ्नो २४ औ वार्षिकोत्सब भब्य रुपमा मनाएको छ । ग्रामीण क्षेत्रमा शैक्षिक र सामाजिक गतिविधिमा अग्रसर रहेको विद्यालयले शनिबार पुरस्कार तथा अवार्ड वितरण कार्यक्रम गरि भब्य रुपमा वार्षिकोत्सब मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य रुपा पराजुलीले २४ औ वर्षमा पुग्दा ठूलो चुनौतीहरु पार गरेको बताईन् । अधिकाश अभिभावकहरु बालबालिका विद्यालयमा भर्ना भएपछि आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति समाजमा देखिएको भन्दै बढी भन्दा बढी समय बच्चाहरुलाई दिन जरुरी रहेको औल्याईन् । बच्चाहरु रचनात्मक काममा अग्रसर गराउन सके उनीहरुको सिकाई प्रभावकारी हुने उनको तर्क छ ।
विद्यालयका अध्यक्ष गिरिराज डुम्रेले विद्यालयमा शैक्षिक, ब्यावहारिक ज्ञानका साथै खेलकुद गतिविधिहरुमा चासो दिएर योजनावद्घ रुपमा काम गर्दा सफलता मिलेको बताए । प्याब्सन नेपालका केन्द्रीय सचिव सुवर्ण न्यौपाने, विद्यालयका कार्यकारी निर्देशक चुडामणी डुम्रे, जयसरा डुम्रेले विजेता, उपविजेताहरुलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रमको एक समारोहका बीच प्याब्सन नेपालका केन्द्रीय सचिव सुवर्ण न्यौपानेले उदघाटन गर्दै शैक्षिक विकासमा नीजि क्षेत्रको लगानीमा सरकारको सकारात्मक दृष्टिकोण नआएको दुःखेसो गरे । ठुलो सरकारी लगानी भएका सामुदायिक विद्यालयमा भन्दा नीजि क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन भएको उनको दाबी छ । अन्य विद्यालयहरुले समेत अनुसरण गर्ने गरी ड्रिमबाट योजना बनाएर काम गर्दा सफलता पाएको उनले दाबी गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका उमाकान्त चापागाई, शुद्घोधन गाउँपालिकाका अध्यक्ष विष्णु बश्याल, जेसिआई सेनिटर श्रीधर बश्याल, प्याब्सन नेपालका रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका अध्यक्ष लोकनाथ उपाध्यायले ग्रामीण क्षेत्रमा स्थापना गरेर शैक्षिकसंगै समाज रुपान्तरणमा नमुना र रचनात्मक काममा ध्यान दिनुपर्ने बताए ।
विद्यार्थीहरुले फुड फेष्टिवल, विज्ञान प्रदर्शनीका साथै अभिभावक, शिक्षक र विद्यार्थीहरुको खेल कार्यक्रम फागुन १८ गतेदेखि ३ दिनसम्म संचालन भएको थियो ।