© २०२३
दाङ, १६ फागुन ।
घोराही –५ धर्नामा रहेको प्रसिद्ध धार्मिक स्थल धारापानीमा महाशिवरात्री मेलाको अवसरमा भएको आम्दानी तथा खर्चको सार्वजनिक गरिएको छ । पाण्डवेश्वर महादेव मन्दिर, यही फागुन ५,६ र ७ गते लागेको शिवरात्री मेलामा करिव आठ लाख आम्दानी भएको आन्तरिक लेखा परीक्षण समितिले जानकारी दिएको छ ।
समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकमा आन्तरिक लेखा परीक्षणका विमल कुमार अधिकारी र मधुसुदन पौडेलले मेलामा आम्दानी तर्फ सात लाख ६३ हजार सात सय ७६ रुपैयाँ र खर्च तर्फ चार लाख ८९ हजार आठ सय ७० रुपैयाँ भएको जानकारी दिए । मेलामा सवै भन्दा बढी दान पेटिकाबाट तीन लाख ७६ हजार ९ सय पाँच,व्यापार स्टलबाट दुई लाख ५२ हजार पाँच सय,सवारी साधन पार्किङ ठेक्काबाट ७५ हजार र शिवरात्री सहयोग रसिदबाट ५९ हजार तीन सय ७१ रुपैया आम्दानी भएको समितिका कोषाध्यक्ष बोधिलाल शर्माले जानकारी दिए ।
दुई लाख ७३ हजार नौ सय ६ रुपैया सहकारीमा जम्मा गरिएको छ । बैठकले मेला व्यवस्थापनमा सहयोग गर्ने सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दल, नागरिक समाज, स्वास्थ्यकर्मी, स्वंयसेवक, विभिन्न उपसमितिका पदाधीकारी, सवै भक्तजन लगायतलाई धन्यवाद ज्ञापन गरेको मन्दिरका लेखा तथा प्रशासन प्रमुख नरेश पौडेलले बताए ।
यस्तै मेलाका अवसरमा मन्दिर स्थल तथा मन्दिर आउने सडक मर्मतका लागि जेसिवी सहयोग गर्ने घोराही उप महानगरपालिका,२५ कार्टुन पानी सहयोग गर्ने घोराहीका धर्मेन्द्र केसी, तरकारी तथा राशन सहयोग गर्ने सस्तो तरकारी पसल घोराही लगायतलाई समेत बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकको सहजीकरण सचिव विष्णुराम गरेका थिए ।