© २०२३
गत जेठ महिनामा बुद्ध जयन्तीको अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको उदघाटन हुँदै गर्दा मुलुकले ७० बर्षपछि राजधानी बाहिर पहिलो अन्तर्राष्ट्रिय उडानको अवसर पाउँदै थियो । अन्तर्राष्ट्रिय उडानसंगै यस क्षेत्रका पर्यटन व्यवसायीमा आशा र भरोसाको लोभलाग्दो वातावरण तयार हुँदैथियो । अन्तर्राष्ट्रिय उडानको करिव ७ महिना ठिकै थियो तर गत पुस ६ बाट जजिराले अन्तर्राष्ट्रिय उडान रोकेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा अनेकौं प्रश्न उत्पन्न भएका छन । मुलुकले पाएको भरपर्दाे र विश्वासयोग्य उडान रोकिएकोमा पर्यटन व्यवसायीमा ठूलो निरासा छाएको छ । यो विमानस्थलबाट भारतसंग सिधा एयर रुट छैन । भारतले आकास उपलब्ध नगराउँदा अनिश्चयको वातावरण सिर्जना भएको छ । त्यसमाथि जजिराले समेत यात्रुको अभाव र भैरहवामा लाग्ने हुस्सुको कारण देखाएर उडान नै बन्द गरेपछि बिमानस्थलको भविष्यलाई लिएर धेरै चिन्ता थपिएको छ । कतिपयले त उडान माफियाहरुले काठमाण्डौं बाहिरबाट अन्तर्राष्ट्रिय उडान भएको देख्नै र सुन्नै नचाहेको र उनीहरुकै कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि असफल बनाउने प्रयास स्वरुप जजिराको उडान रोकिएको तर्क गरे । यो तर्कभित्र शंकाले घर गर्ने धेरै आधार छन । तरपनि आशा गरौं भैरहवाबाट नै रोकिएको अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ । जजिराले त्यसको संकेत गरेको छ । अवको दुई महिनापछि गौतमबुद्ध विमानस्थलबाटै जजिराको अन्तर्राष्ट्रिय उडान फेरि सुरु हुने जजिराको प्रतिवद्धता सार्वजनिक भएको छ । सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने संकेत गरेको छ । यद्यपि त्यो संकेतमात्र नहोस् । जजिरासंगै अरु धेरै विमान कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको रुची देखाएका थिए तर ती पनि अहिले सम्पर्कमा नआएको बताइएको छ । जेहोस भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि सफल वताउने विषयमा सरकार, यस क्षेत्रका पर्यटन व्यवसायी र आम जनता सवैको ध्यान जाओस् ।
सन. २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म यो विमानस्थलबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरुले अन्तर्राष्ट्रिय सेवा लिएको तथ्याँक आएको छ । भैरहवा र समग्र लुम्विनी क्षेत्रकै लागि यो निकै खुसीको कुरा हो । अवका दिनमा अरु धेरै यात्रीले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडानको सेवा पाउन सके लुम्विनी क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र वनाउन सकिनेछ । जजिराले उडान रोकेपछि यस क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरु गर्न भन्दै पहल थालेका थिए । अन्तर्राष्ट्रिय उडान रोकिएकोमा निरासा पनि थियो तर अहिले जजिराले उडान सुरु गर्ने जुन संकेत गरेको छ, त्यसले यस क्षेत्रमा खुसीको सञ्चार गरेको छ । पछिल्लोसमय जजिरा एयरलाइन्सका प्रतिनिधि र नेपाल ट्राभल्स टुर्स संघ लुम्बिनी प्रदेश (नाट्टा) तथा उद्योग बाणिज्स संघ सिद्धार्थनगर भैरहवाले गरेको सम्बादले एउटा आशा जगाएको छ । त्यो सफलता उन्मुख होस् । निश्चितरुपमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश छ । तसर्थ अव छिटोभन्दा छिटो जजिराको उडान सुरु होस् ।